काठमाडौं– प्याराग्लाइडिङको एकल उडान खुलाउन प्रधानमन्त्रीसँग आग्रह गरिएको छ । पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न पोखरा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष आइतबार ज्ञापनपत्र बुझाउँदै व्यवसायीहरुले प्याराग्लाइडिङको सोलो (एकल) उडान खुलाउन र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान थाल्नुपर्ने माग गरेका हुन् ।
पोखरामा रहेका १४ वटा व्यवसायिक संघ संस्थाको छाता संगठन पोखरा पर्यटन परिषदले बुझाएको ज्ञापन पत्रमा प्याराग्लाइडिङको सोलो उडानमा प्रतिबन्ध लगाएका कारण पर्यटन क्षेत्रमै नकारात्मक असर परेको बताइएको छ ।
पोखरामा भएको नवौं राष्ट्रिय खेलकुदका क्रममा २०७९ असोज ३० गते नेपाली सेनाका खेलाडी निसिम थापाको निधन भएपछि नेपाल नागरिक उड्यन प्राधिकरणले सोलो उडानमा प्रतिबन्ध लगाएको थियो ।
सोलो उडान बन्द हुँदा खेलाडीले अभ्यास गर्न पाएका छैनन् भने प्याराग्लाइडिङ गर्नकै लागि पोखरा आउने विदेशी पनि आउन पाएका छैनन् । इन्डोनेसियामा २०७५ भदौमा भएको अठारौं एसियाली खेलकुदमा नेपालले प्याराग्लाइडिङमा रजत पदक जितेको थियो । नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिता जित्न सक्ने प्याराग्लाइडिङको सोलो उडान बन्द हुँदा खेलाडी विस्थापित भइरहेको नेपाल हवाई खेलकुद संस्थाले जनाएको छ ।
प्रतिक्रिया