बजारमा सुशासन नआएसम्म देशमा सुशासन आउन सक्दैनः सभापति खान

बजारमा सुशासन नआएसम्म देशमा सुशासन आउन सक्दैनः सभापति खान


काठमाडौं–उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले बजारमा सुशासन नआएसम्म देशमा सुशासन आउन नसक्ने बताएका छन् ।

शुक्रबार विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा उद्योग मन्त्रालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्। सभापति खानले सरकारले बजारलाई सुरक्षित,मर्यादित,नियमित र संरक्षित गर्न सक्नुपर्ने बताए । उनले मुलुकमा सुशासनको परिकल्पना गर्नु भनेको बालुवामा पानी खनाउनु सरह भएको बताए। सभापति खानले मुलुकमा उत्पादन बढाएर वितरण गरी उपभोगसम्म पुग्नुपर्ने भनाइ राखे ।

उनले उत्पादन वृद्धि,वितरण गरी उपभोक्ता माझ पु¥याउने कुरालाई सरकारले नियमन गर्न सक्यो भने मात्रै बजार सुरक्षित,नियमित र असल हुने विश्वास व्यक्त गरे । सभापति खानले बजार असल हुने बित्तिकै सम्पूर्ण जनता पनि सुरक्षित हुने बताए । उनले राज्य उपभोक्ताको विषयमा कमजोर भन्दा पनि निर्मम हुन आवश्यक रहेको बताए।

सभापति खानले राज्यले बाल प्रवृति देखाउँदा उपभोक्ता र उपभोग्य वस्तुमा गुणस्तरहिनता आउने गरेको बताए। उनले सरकारले कसैको दबाबमा खानेकुरा देखेपछि उतै लम्कने प्रवृत्ति हटाउनुपर्ने भनाइ राखे। खानले राज्य निर्मम भएपछि मात्रै मुलुकमा सुशासन कायम गर्न सकिने भनाइ राखे । उपभोक्ता र उपभोग्य वस्तु सम्बन्धि भएका नियम,कानूनहरु समयमा नै कार्यान्वयन र संशोधन गरे मात्रै कानूनी राज्यको जनतामा आभास हुने उनको भनाई छ । खानले सरकारले गुणस्तरहिन वस्तु उत्पादन र व्यापार गर्नेलाई नियमन गर्न खुट्टा कमाउनु नहुने उल्लेख गरे ।

उनले असल व्यवसायी जसले वस्तु र सेवा उपभोक्तामा पु¥याएको छ उनीहरुलाई राज्यले सँधै सम्मान गर्ने बताए ।