गृहमन्त्रीलाई कमल थापाको प्रश्नः सहकारी ठगीको आरोपलाई दुधको दुध, पानीको पानी गर्न सक्नुहुन्छ ?

गृहमन्त्रीलाई कमल थापाको प्रश्नः सहकारी ठगीको आरोपलाई दुधको दुध, पानीको पानी गर्न सक्नुहुन्छ ?


काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले नवनियुक्त गृहमन्त्रीलाई सहकारी ठगीको आरोप लागेको भन्दै सो आरोपलाई दुधको दुध, पानीको पानी गर्न सक्नुहुन्छ भन्दै प्रश्न गरेका छन् ।

काठमाडौंमा आयोजित वृहत् जनप्रदर्शनपछि सम्बोधन गर्दै अध्यक्ष थापाले गृहमन्त्री रवि लामिछानेलाई आफूमाथि लागेको आरोपबारे स्पष्ट पार्न आग्रह गरेका हुन् । उनले सहकारी ठगीको आरोपलाई पारदर्शी र जनतालाई चित्त बुझ्नेगरी दुधको दुध, पानीको पानी पार्न चुनौती दिए । उनले नयाँ गृहमन्त्रीले जनतालाई कसरी सुशासनको प्रत्याभूति दिनेछन् भनेर आफूहरूले हेरिराखेको बताए ।

अध्यक्ष थापाले पूर्वउपराष्ट्रपति, पूर्वसभामुख र पूर्वमन्त्रीका छोराहरू सुन तस्करी लगायतका भ्रष्टाचारका काण्डमा संलग्न रहेको भन्दै उनीहरूलाई कारबाही गर्न सक्नुहुन्छ? भनी प्रश्न समेत गरे । उनले ललिता निवास जग्गा प्रकरणमा मुछिएका दुई पूर्वप्रधानमन्त्रीलाई कानुनको कठघरामा उभ्याउन सक्नुहुन्छ भनेर पनि प्रश्न गरे ।

उनले भने,‘म यही मञ्चबाट नयाँ गृहमन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई आग्रह गर्न चाहन्छु, के तपाई ललिता निवास जग्गा काण्डमा मुछिएका दुईवटा प्रधानमन्त्रीलाई कानुनको कठघरामा उभ्याउन सक्नुहुन्छ रु के तपाई सुन तस्करीमा मुछिएका पूर्वउपराष्ट्रपति, पूर्वसभामुख र पूर्वमन्त्रीका छोराहरुलाई जेलमा राखेर कारबाही गर्न सक्नुहुन्छ रु म स्वयं गृहमन्त्रीलाई भन्न चाहन्छु, नक्कली भुटानी शरणार्थी काण्डमा केही व्यक्तिहरू पक्राउ परे तर ठुला नेता र ठुला नेताको परिवारलाई जोगाउने काम भएको छ, के तपाई तिनीहरूलाई कानुनको कठघरामा उभ्याउन सक्नुहुन्छ रु यति मात्र होइन, म गृहमन्त्रीलाई भन्न चाहन्छु, तपाईँमाथि पनि सहकारी ठगीको आरोप लागेको छ, के तपाई त्यसलाई पारदर्शी ढंगबाट, जनतालाई चित्त बुझ्नेगरी दुधको दुध, पानीको पानी गर्न सक्नुहुन्छ रु हामी हेरिराखेका छौँ नयाँ गृहमन्त्रीले जनतालाई कसरी सुशासनको प्रत्याभूति दिनु हुनेछ ?’

अध्यक्ष थापाले नेपालमा धर्म निरपेक्षता र संघीय गणतन्त्र असफल भएको बताए । उनले सरकार र पार्टीहरुको अकर्मण्यताको कारण युवाहरू बिदेसिन बाध्य हुनु परेको बताए ।