काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले संसदबाट तेस्रो पटक विश्वासको मत पाएसँगै आफ्नो जिम्मेवारी अझै बढेको प्रतिक्रिया दिएका छन् ।
बुधबार संसदमा विश्वासको मत लिएसँगै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले आफ्नो जिम्मेवारी बढेको प्रतिक्रिया दिएका हुन् । उनले राष्ट्र र जनताको पक्षमा राम्रो काम तिब्र गतिमा पूरा गर्ने आफ्नो जिम्मेवारी रहेको बताए । उनले काँधमा जिम्मेवारी थपिएको बताए। उनले संयमित वातावरणमा लोकतान्त्रिक ढंगले विश्वासको मत पाएको पनि बताए।
उनले भने – ‘आजको संसदमा जिवन्त रुपले लोकतान्त्रिक अभ्यास भयो । बडो राम्रो संयमित वातावरणमा । यसले हाम्रो लोकतन्त्र अझ सजिव बनेको छ । अझ सुदृढ बनेको छ भन्ने मैले महशुस गरेको छु । मलाई प्रधानमन्त्रीको रुपमा जसरी विश्वासको मत प्राप्त भएको छ । तीन पटक, तीनवटा अलग अलग अनुभुति र अलग अलग अनुभव पनि भए । पहिलो पटकको अनुभव मैले पुरानै गठबन्धन बाट नै प्रधानमन्त्री बन्ने अन्तिम तयारी गरेको बेलामा नै अन्तिम घडीमा बालकोटमा गएर केपी ओलीजी लगायतको समर्थनमा म प्रधानमन्त्री बने । दोस्रो पटक पुरानै गठबन्धनमा फर्किएपछि झन्डैझन्डै शतप्रतिशत समर्थन मलाई प्राप्त भयो । विश्वासको मत यो रुपमा सदनबाट दुईजना छोडेर बाँकी सबैको समर्थन प्राप्त हुनेकुरा पनि नेपालको इतिहासमा एउटा असाधारण र अभुतपूर्व परिघटना थियो । मैले त्यो अनुभुति पनि गरेँ । सम्पूर्ण सदनको नै समर्थन हुँदा कस्तो हुँदोरहेछ नेतृत्वलाई भन्ने कुराको सकारात्मक, सुखद अनुभुति पनि गरेँ । आज फेरी नयाँ राजनीतिक समिकरणसहित विश्वासको मत लिदाँखेरीको अनुभव अझ बढी लोकतान्त्रिक ढंगले सजिव रह्यो । मेरो जिम्मेवारी अझ बढेको छ । राष्ट्र र जनताको पक्षमा राम्रा काम तिव्र गतिमा पुरा गर्ने, अगाडी बढाउने जिम्मेवारी हो यो । मेरो काँधमा जिम्मेवारी थपिएको छ । म सदनप्रति आभार व्यक्त गर्न चाहन्छु ।’
उनले आफूलाई विश्वासको मत दिने सांसदहरु र संसदप्रति आभार पनि व्यक्त गरे । (न्युज एजेन्सी नेपाल)
प्रतिक्रिया