काठमाडौं– आर्थिक वर्ष २०८०/८१ को सात महिनामा कुल वस्तु निर्यातमा ७.१ प्रतिशतले कमी आएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ७ महिनाको आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कअनुसार सो अवधिमा निर्यात रकम ८६ अर्ब ८३ करोड रुपैयाँमा कायम भएको हो । अघिल्लो वर्षको सोही अवधिमा पनि यस्तो निर्यातमा २९ प्रतिशत कमी देखिएको थियो ।
योसँगै गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फ भएको निर्यातमा क्रमशः ११.३ प्रतिशत र २ प्रतिशतले कमी आएको छ । चीनतर्फको निर्यातमा भने ३३८.८ प्रतिशतको वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, जुस, तयारी पोसाक, अदुवा लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, अलैंची, चिया, ऊनी गलैचा लगायतका वस्तुको निर्यात घटेको छ ।
त्यस्तै, आर्थिक वर्ष २०८०/८१ को सात महिनामा कुल वस्तु आयात २.३ प्रतिशतले कमी आएसँगै यसवापतको रकम ८ खर्ब ९७ अर्ब ९४ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १९.९ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलकबाट भएको आयात क्रमशः २.८ प्रतिशत र २३.८ प्रतिशतले घटेको छ । चीनबाट भएको आयात भने ३८.४ प्रतिशतले बढेको छ ।
वस्तुगत आधारमा तयारी पोशाक, सवारी साधान तथा स्पेयर पार्टपुर्जा, हवाइजहाज स्पेयर पार्टपुर्जा, विद्युत्तीय उपकरण, एमएस, तार, छड, बार तथा क्वाइल लगायतका वस्तुको आयात बढेको छ भने कच्चा सोयाविन तेल, सुन, धान तथा चामल, पेट्रोलियम पदार्थ, कच्चा पाम तेल लगायतका वस्तुको आयात घटेको छ ।
यसैगरी निर्याततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा र तातोपानी बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यातमा कमी देखिएको छ । चालु वर्षको सात महिनामा कुल वस्तु व्यापार घाटा १.८ प्रतिशत भएसँगै यसवापतको रकम ८ खर्ब ११ अर्ब ११ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १८.७ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.२ प्रतिशत रहेको थियो ।
त्यस्तै, सात महिनाको अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ८८ अर्ब १८ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७१ अर्ब ७८ करोड बराबरको भएको थियो ।
प्रतिक्रिया