काठमाडौं – चितवनको खैरहनी नगरपालिकाले शिक्षाको क्षेत्रमा नौलो अभ्यास शुरु गरेको छ । नगरपालिकाले विपन्न परिवारका बालबालिकाको लागि बस्तीमै गृहकार्य कक्षा सञ्चालन गरेको हो । दैनिक ज्यालामजदुरी गरेर परिवार पाल्नुपर्ने, बालबच्चालाई पठनपाठनमा सहजीकरण गर्न नसक्ने परिवारका बालबालिकाको लागि उनीहरुलाई पायक पर्ने बस्तीमा गृहकार्य कक्षा सञ्चालन गरिएको हो ।
नगरपालिकाले सामुदायिक विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने विद्यार्थीको लागि नगरभित्रको २८ स्थानमा गृहकार्य कक्षा सञ्चालन गरेको छ । गृहकार्य कक्षाको लागि बस्ती नजिक रहेको कोठा,सामुदायिक भवन, संघसस्थाको भवन र विद्यालय नै भएको स्थानमा विद्यालयकै कोठामा गृहकार्य कक्षा सञ्चालन गरिएको खैरहनीका नगरप्रमुख शशीकुमार खनियाले जानकारी दिए ।
केही स्थानमा कोठा भाडामा लिएर समेत कक्षा सञ्चालन गरिएको र गृहकार्य कक्षाको लागि कापी समेत नगरपालिकाले उपलब्ध गराएको बताएा विद्यालयमा अध्ययन गरेपछि घरमा सहजीकरण, सिकाउने व्यक्ति नहुदा विद्यार्थीले पर्याप्त शैक्षिक वातावरण नपाएको विषयलाई मध्यनजर गर्दै गृहकार्य कक्षा सञ्चालन गरिएको नगरप्रमुख खनियाले बताए ।
विद्यालयमा दिइएको गृहकार्यसँगै अन्य थप विषयवस्तु र व्यवहारिक शिक्षा समेत गृहकार्य कक्षामा दिइँदै आएको छ । गृहकार्य कक्षाको सहायताले विपन्न परिवारका बालबालिकामा विद्यालयपश्चात पनि पढ्ने लेख्ने बानीको विकास हुने, अभिभावकको समय अभावमा समेत बालबालिकामाथी निगरानी र संरक्षण प्राप्त हुने खैरहनी नगरपालिककी उपप्रमुख कविता उप्रेतीले बताए ।
गृहकार्य कक्षाको लागि वडा समितिले छनौट गरेका २८ जना सहजकर्ताहरुलाई खटाएको उनले बताए । गृहकार्य कक्षाको लागि सहजकर्ताहरुमा बहालवाला शिक्षक, स्वयंसेवक शिक्षक र कक्षा १२ उत्तिर्ण गरेकाहरु रहेका छन् । प्रत्येक दिन दुईघण्टा कक्षा सञ्चालन हुँदै आएको छ ।
गृहकार्य कक्षा कार्यक्रममा नगरपालिकाको १३ वटै वडाका करिव ७ सय ८४ जना विद्यार्थी लाभान्वित हुने खैरहनीका नगर शिक्षा अधिकारी राजु बानियाँले जानकारी दिए । नगरपालिकाले यसअघि सामुदायिक विद्यालयहरुमा विषयगत अध्ययन गराउन ५८ जना स्वयंसेवक शिक्षकहरु खटाएर पठनपाठन गराउँदै आएको छ ।
प्रतिक्रिया