उद्योगी व्यवसायी र सर्वसाधरण जनताको आत्मबल जगाउने गरी काम गर्छुः अर्थन्त्री पुन


काठमाडौं– नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले पदभार ग्रहण गरेका छन् ।अर्थमन्त्री पुनले पदभार ग्रहण गर्दै आम सर्वसाधरण र निजी क्षेत्रको मनोबल उच्च बनाउने गरी काम गर्ने प्रतिवद्धता जनाएका छन्। उनले मुलुकको वर्तमान अर्थतन्त्र संकटमा नभएर मन्दीमा रहेको दाबी गर्दै अर्थतन्त्रमा रहेका चुनौतीहरुलाई सबै भन्दा पहिला सबै मन्त्रालयसँग समन्वय गरेर समाधान गर्ने बताए ।

अर्थमन्त्री पुनले अर्थतन्त्रको चुनौतीलाई प्रधानमन्त्रीले मुख्य कामको रुपमा सुशासन पहिलो प्राथमिकता र आर्थिक समृद्धिको गर्ने प्राथमिकता निर्धारण गर्नु परेकाले त्यही अनुसार काम गर्ने पनि बताए । उनले नयाँ गठबन्धनले पनि त्यसैलाई आत्मसाथ गरेको प्रष्ट पारे। सरकारको प्राथमिकता प्रधानमन्त्रीको निर्देशनमा रहेर सबै क्षेत्रको मनोवल उठाएर आशा जगाउने गरी काम गर्न अर्थमन्त्रीको रुपमा आएको बताए ।

उनले भने ,‘अर्थतन्त्रमा संकट नै होइन । मन्दीमा पगेर चलायमान कम भएको हो । अर्थतन्त्रमा चुनौतीहरु छन् । चुनौतीहरुलाई प्रधानमन्त्रीले मुख्य कामको रुपमा सुशासन पहिलो प्राथमिकता र आर्थिक समृद्धिको गर्ने प्राथमिकता निर्धारण गर्नुभएको छ । नयाँ गठबन्धनले पनि त्यसैलाई आत्मसाथ गरेको छ । सरकारको प्राथमिकता प्रधानमन्त्रीको निर्देशनमा रहेर सबै क्षेत्रको मनोवल उठाएर आशा जगाउने गरी काम गर्छु । मेरो प्रतिवद्धता पनि हो । सजिलो छैन । २००८ मा विश्व व्यापी आर्थिक संकट लगतै २०११मा अर्थमन्त्रीको जिम्मेवारीमा आएको थिए । त्यति खेर पनि घरजग्गा,शेयर बजार,तरलता,सहकारीमा समस्या त्यति बेला पनि थिए । त्यो बेला पनि विश्वव्यापी आर्थिक मन्दीको असर पर्न दिएनौं । त्यो बेलामा पनि आर्थिक वृद्धिदर ५ प्रतिशत गरेका थियौं । त्यो अनुभव र आजको प्राथमिकतामा काम गर्न सकिन्छ । सबै आम नागरिक,उद्योगी,व्यवसायीहरुलाई अनुरोध गर्न चाहन्छु । आशा जगाउन सक्छौं । अर्थतन्त्रको केही ठाउँमा शिथिलताहरु छन् । त्यसलाई हल गर्न सक्छौं । समस्याहरु कहाँ छन् थाहा भएकाले मेरो प्रयास अन्य मन्त्रालयहरुको सहकार्यमा समस्याहरु हल गर्न सकिन्छ । आशा जगाउन सकिन्छ । सबै क्षेत्र नराम्रो छैन । सार्वजनिक क्षेत्रमा केही समस्या छ । त्यसलाई प्राथमिकतामा राखेर काम गर्छु । राजश्व संकलन १० प्रतिशतको वृद्धि छ । अर्को महिना देखि दोब्बर वृद्धि गर्न सकिने आधारहरु छन् । मैले बोलेर भन्दा पनि काम गरेर देखाउन चाहन्छु । अर्थ मन्त्रालयको टिमलाई लिएर अभ्यास गर्दा सकिन्छ । अरुलाई आलोचना गरेर भन्दा पनि आफूले राम्रो गरेर काम गर्ने हो । विगतका अर्थमन्त्रीहरुले गरेको असल प्रयासलाई निरन्तरता दिँदै अनुभवलाई लिएर काम अगाडी बढाउँछु ।’

अर्थमन्त्री पुनले सबैसँग समन्वय गरेर अर्थतन्त्रलाई चलायमान बनाउने काममा आजै देखिने लाग्ने प्रतिवद्धता जनाए ।