अनुदान रकम नपाएसम्म कृषि बीमालेख जारी नगर्ने बीमक संघको निर्णय


काठमाडौं – नेपाल बीमक संघले सरकारबाट बाँकी २ अर्ब रुपैयाँ अनुदान रकम नपाएसम्म कृषि सम्बन्धी बीमालेख जारी नगर्ने भएको छ । संघले आज एक विज्ञप्ति जारी गर्दै यस्तो निर्णय गरेको हो । विज्ञप्तिमा आउँदो चैत १ गतेदेखि कृषिसँग सम्बन्धित बीमालेखको बीमाशुल्क पूरा भुक्तानी नभएसम्म बीमालेख जारी नहुने जानकारी गराएको छ ।

नेपाल सरकारले २०६९ सालदेखि कृषक र कृषिलाई प्राथमिकता दिई कृषि बीमाशुल्कमा क्रमशः अनुदान दिँदै आएको विज्ञप्तिमा अवगत गराइएको छ। विज्ञप्तिमा ‘विगत १० वर्षदेखि बीमा कम्पनीहरुले नियामक निकाय नेपाल बीमा प्राधिकरणको निर्देशिकाबमोजिम कृषि बीमालेख जारी गर्ने, क्षति हुँदा क्षतिको दाबी भुक्तानी गर्ने तर सरकारले तोकेको अनुदान सामान्यतया १ वर्षपश्चात मात्र प्राप्त हुने गरेको उल्लेख गरिएको छ ।

सरकारले कृषि बीमाशुल्कमा तोकेको अनुदान रकम बीमा कम्पनीहरुलाई दिन हालसम्म करिब रु। २ अर्ब बाँकी रहेको छ।बीमा ऐन, २०७९ अनुसार बीमालेखहरु उधारोमा जारी गर्न नपाइने भएकाले नेपाल सरकार कृषि मन्त्रालय तथा विभागहरुलाई पटक–पटक जानकारी गराएको संघले जनाएको छ ।