आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रको बजेट बढाउँछौँः प्रधानमन्त्री

आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रको बजेट बढाउँछौँः प्रधानमन्त्री


काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्ष स्वास्थ्य क्षेत्रको बजेट बढाउने प्रतिवद्धता गरेका छन् ।

शुक्रवार चितवनको भरतपुरमा निर्मित भरतपुर आँखा अस्पतालको नयाँ भवन उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले आगामी वर्ष स्वास्थ्य क्षेत्रको बजेट बढाउने प्रतिवद्धता गरेका हुन् । उनले स्वास्थ्य सम्बन्धी हकलाई व्यवहारमा कार्यान्वयन गर्न सरकार क्रियाशील रहेको पनि बताए ।

प्रधानमन्त्री दाहालले देशभरका सबै अस्पतालमा १० प्रतिशत शैय्या गरिव,विपन्न र असहाय नागरिकका लागि निःशुल्क उपलब्ध गराउने व्यवस्था, महिलाहरुमा देखापर्ने स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरबिरुद्धको खोप निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिरहेको पनि जानकारी दिए । उनले स्वास्थ्य क्षेत्रमा सामाजिक सुरक्षाका कार्यक्रम, विपन्न बिरामीहरुका लागि अनुदानको व्यवस्था, लगायत महत्वपूर्ण निर्णय भइ कार्यान्वयनमा आएको पनि बताए ।

दाहालले संविधानअनुरुप निर्माण गरिनुपर्ने ऐनहरुको तर्जुमाका निमित्त नेपाल सरकारले गम्भीर पहल लिइरहेको पनि बताए ।
उनले भने,‘मेरो नेतृत्वको वर्तमान सरकार स्वास्थ्य सम्बन्धी हकलाई व्यवहारमा कार्यान्वयन गर्न निरन्तर क्रियाशील रहँदै आएको छ । स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन देशभरका सबै अस्पतालमा १० प्रतिशत शैय्या गरिव,विपन्न र असहाय नागरिकका लागि निःशुल्क उपलब्ध गराउने व्यवस्था, महिलाहरुमा देखापर्ने स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरबिरुद्धको खोप निःशुल्क उपलब्ध गराउने व्यवस्था, स्वास्थ्य क्षेत्रमा सामाजिक सुरक्षाका कार्यक्रम, विपन्न बिरामीहरुका लागि अनुदानको व्यवस्था, लगायत महत्वपूर्ण निर्णय भइ कार्यान्वयनमा आएका छन् । अर्कोतर्फ संविधानअनुरुप निर्माण गरिनुपर्ने ऐनहरुको तर्जुमाका निमित्त नेपाल सरकारले गम्भीर पहल लिइरहेको छ । यि सबै प्रयासहरुले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण सुधार हुने विश्वास लिएको छु । सरकारको बजेट निर्माणको प्रक्रिया नयाँ शिराबाट थालिएको छ । विगतको भन्दा भिन्न रुपबाट अघि बढाइएको छ । स्वास्थ्य क्षेत्रमा जति सम्भव हुन्छ, अधिकतम बजेटको व्यवस्था गर्ने कोशिस यो पटक हुन्छ ।’

प्रधानमन्त्री दाहालले सरकारको बजेट निर्माणको प्रक्रिया नयाँ शिराबाट अघि बढाइएको बताए ।