काठमाडौं– काठमाडौं – फलाम उद्योगमा कार्यरत श्रमिकको व्यवसायजन्य सुरक्षाका सवालमा उद्योग सञ्चालकले ध्यान नदिएको सांसदहरूले बताएका छन् ।
प्रतिनिधिसभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा सदस्यहरूले श्रमिकहरूको जिउज्यानको सुरक्षाको विषयलाई उद्योगले पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
सांसद कृष्णकुमार श्रेष्ठले नेपालको फलाम उद्योगमा काम गर्न कामदार छिमेकी देश भारतबाट ल्याउने र ती मजदुरको ज्यान जोखिममा राखेर काममा लगाउने विषय गम्भीर रहेको बताए । उनले विदेशी भएकै कारण ती मजदुरको ज्यानमाथि खेलवाड गरेको हुनसक्ने आशङ्का व्यक्त गरे ।
सांसद श्रेष्ठले भारतीय मजदुरको दुर्घटना भएमा रक्सौलमा लगेर उपचार गराउने र मृत्यु भएपछि थोरै रकम भुक्तानी गरेर मजदुरको अधिकार हनन् गरेको बताए ।
सांसद डोलप्रसाद अर्यालले नेपालमा सञ्चालित फलाम उद्योगले विदेशी कामदारमाथि गरेको अन्यायबारे सरकार गम्भीर हुनुपर्ने बताए । उनले कुनै पनि देशको नागरिक भए पनि मानिसको ज्यानसँग खेलवाड गर्न नहुने विचार व्यक्त गरे ।
सांसद राजु थापाले गुणस्तर मापनजस्ता विषयमा उद्योगले खेलवाड गर्न नहुने बताउँदै राज्यले विभेदकारी नीति अवलम्बन गर्न नहुनेमा जोड दिए । उनले फलामजन्य कच्चा पदार्थ विदेशबाट आयात गर्ने तर नेपालमा भएका फलाम खानीका सम्भाव्यताका लागि सरकारले अध्ययन वा चासो नदेखाएकामा असन्तुष्टि व्यक्त गरे ।
सांसद हेमराज राईले गुणस्तरहीन सामग्रीको प्रयोगले गर्दा भौतिक संरचनामा क्षति पुग्ने उल्लेख गर्दै यसको उचित समाधान खोज्न आवश्यक रहेको बताए । भूकम्पीय जोखिम रहेको देशमा मापदण्ड नपुगेका सामग्रीको प्रयोग हुने भएकाले बनाएका संरचना टिकाउ नहुने अवस्थाको सिर्जना भएकोबारे गम्भीर हुन जरुरी रहेको बताए । (रासस)
प्रतिक्रिया