काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले किसानहरुलाई दुधको भुक्तानी दिन सरकारसँग आग्रह गरेका छन् ।
शुक्रवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद सिंहले किसानहरुले दुधको भुक्तानी नपाएर आन्दोलिन हुनुपरेको भन्दै दुधको भुक्तानी गर्न सरकारसँग माग गरेका हुन् । उनले सांसदहरुलाई निर्वाचन क्षेत्र विकासको लागि दिने भनिएको पाँच करोड रुपैयाँ किसानलाई राहत दिनुपर्ने बताए।
उनले सहकारीहरुले पार्टीका नेताहरुको छत्रछायाँमा जनताको अरबौँ रुपैयाँ खाएका पनि बताए। उनले भने, ‘सहकारीहरुले पार्टीको नेताहरुको छत्रछाँयाबाट अरबौँ रुपैयाँ जनताको पैसा खाएको छ । एकजनालाई पनि समातेर कारबाही गरेर असुली गरेको छैन । मैले प्रधानमन्त्री र गृहमन्त्रीलाई भनेको छु, जुन पाँच करोड रुपैयाँ हामीलाई दिइएको छ, पहिला किसानहरुलाई अनुदान र दुधको भुक्तानी गरिदिनुस् । हामी तपाईहरुसँग चाहियो भनेर माग्दैनौँ । त्यसैपनि अदालतले रोकेको छ । त्यो पैसा नेपालका किसानहरुलाई दुध व्यापारीहरुलाई राहत र सहयोग गरिदिनुस् ।’
उनले सहकारीहरुलाई कारबाही गर्न माग गरे । (न्युज एजेन्सी नेपाल)
प्रतिक्रिया