काठमाडौं- नेपालका लघुवित्त वित्तीय संस्थाहरुको तरल सम्पत्तिमा गिरावट आएको छ । चालु आर्थिक वर्षको ६ महिनाको वित्तीय विवरण सार्वजनिक गर्दै केन्द्रीय बैंकले सर्वसाधारणबाट निक्षेप संकलन गर्ने लघुवित्त वित्तीय संस्थाहरुको तरल सम्पत्तिमा गिरावट आएको देखाएकाे हो ।
हाल नेपालमा सर्वसाधारणबाट निक्षेप संकलन गर्ने लघुवित्त संस्थाहरु निर्धन उत्थान लघुवित्त वित्तीय संस्था र छिमेक लघुवित्त वित्तीय संस्था मात्र रहेका छन् । २०८० पुस मसान्तमा उक्त लघुवित्त वित्तीय संस्थाहरुको तरल सम्पत्ति २०८० असारको तुलनामा ८.९५ प्रतिशतले घटेर ५ अर्ब ७२ करोड पुगेको केन्द्रीय बैंकले जनाएको छ ।
गत पुस मसान्तमा तरल सम्पत्ति÷कुल बचत तथा निक्षेप अनुपात ११.४३ प्रतिशत रहेको छ । २०८० असार मसान्तमा यस्तो अनुपात १२.७४ प्रतिशत रहेको थियो । सर्वसाधारणबाट निक्षेप संकलन गर्ने लघुवित्त वित्तीय संस्थाहरुको २०८० पुस महिनाको वैधानिक तरलता अनुपात र अनिवार्य मौज्दात अनुपात क्रमशः ४.४९ प्रतिशत र ३.५७ प्रतिशत रहेको छ । समग्रमा सर्वसाधारणबाट निक्षेप संकलन गर्ने लघुवित्त वित्तीय संस्थाहरुको अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपात तोकिएको न्यूनतम दरभन्दा बढी नै रहेको छ ।
सर्वसाधारणबाट निक्षेप संकलन नगर्ने लघुवित्त वित्तीय संस्थाहरुको कुल तरल सम्पत्तिमा भने वृद्वि भएको छ । सर्वसाधारणबाट निक्षेप संकलन नगर्ने लघुवित्त वित्तीय संस्थाहरुको २०८० पुस मसान्तमा तरल सम्पत्ति २०८० असारको तुलनामा १२.५८ प्रतिशतले वृद्वि भई २४ अर्ब ४८ करोड पुगेको छ । २०८० असार मसान्तमा १८.२४ प्रतिशत रहेको तरल सम्पत्ति/कुल बचत अनुपात २०८० पुस मसान्तमा भने २०.९६ प्रतिशत रहेको छ । समीक्षा अवधिमा सर्वसाधारणबाट निक्षेप संकलन नगर्ने लघुवित्त वित्तीय संस्थाहरुको बैंक तथा वित्तीय संस्थामा रहेको मौज्दात बढेको छ । समग्रमा सर्वसाधारणबाट निक्षेप संकलन नगर्ने लघुवित्त वित्तीय संस्थाहरुको २०८० पुस महिनाको अनिवार्य मौज्दात अनुपात ०.५८ प्रतिशत रहेको छ । सर्वसाधारणबाट निक्षेप संकलन नगर्ने संस्थाहरु मध्ये सुपर र समाज लघुवित्त वित्तीय संस्था बाहेक अन्य सबै लघुवित्तहरुको अनिवार्य नगद मौज्दात तोकिएको दर भित्रै रहेको छ ।
प्रतिक्रिया