वर्तमान आर्थिक समस्यामा पुरानो शैलीको पुनरुत्थान सम्भव छैन : प्रा.डा. शिवराज अधिकारी


काठमाडौं – महिला आर्थिक पत्रकार संघको आयोजनामा काठमाडौंमा सुरु भएको नीतिगत बहस कार्यक्रममा त्रिभुवन विश्व विद्यालयका अर्थशास्त्र विभागका प्रा.डा. शिवराज अधिकारीले देशको आर्थिक संकट समाधान गर्न नयाँ शैलीको रिफर्म आवश्यक भएको औल्याएका छन् ।

देशको आर्थिक संकट समाधानमा मौद्रिक नीति र बजेटरी नीतिमा कहाँनेर समस्या आयो भन्ने विषयमा समुहगत छलफल कार्यक्रममा प्रा.डा. अधिकारीले नेपालको वर्तमान आर्थिक समस्यामा पुरानो शैलीको पुनरुत्थान सम्भव नभएको बताए ।

उनले भने, ‘मौद्रिक नीति र बजेटरी नीतिका बीचमा तालमेलको समस्या देखिदैन । देशको आर्थिक सूचांक ठीक छ । अर्थतन्त्र चलायमान भएन, कर्जा बढ्दा पनि ढुक्क हुने ठाउँ छैन । कर्जा बृद्धि भएर पनि त्यो कहाँ जान्छ भन्ने थाहा छैन । कर्जा बृद्धिले आर्थिक बृद्धि नहुने रहेछ भनेपछि यसले पनि योगदान गर्छ भन्ने आधार के त ? डा. अधिकारीले देशको अर्थतन्त्रमा नयाँ सुधारको योजना आवश्यक भएको बताए । सरकारले पनि खासै खर्च गर्न नसकेको गुनासो गरे । नयाँ शैलीको रिफर्मको सोच चाहियो । सरकारले आफ्नो गतिशिलता देखाउन सकेन । सरकारले ऋण लिइरहेको छ । अर्कोतिर तल खर्च गर्न सकिरहेको छैन । सरकारभित्र पनि कार्यान्वयन हुने अवस्था कमजोर छ ।’

कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले देशभरमा रहेका ७६१ वटा सरकारले बजेटरी नीति बनाउने र त्यसको लागि मौद्रिक नीति एउटा मात्रै रहेको बताउँदै स्थानीय सरकारले पनि खर्च गर्दा देशको अवस्था हेरेर गर्नुपर्ने बताए । बार्षिक नीति र मौद्रिक नीतिको तुलना गर्दा बजेट सधैं ठूलो आइरहन्छ । त्यो अनुसार अपेक्षा गर्छौ । तर, त्यो कहिल्यै पुग्दैन, डा.श्रेष्ठले भने ।