मुक्तिनाथ विकास बैंक अर्बपती क्लबमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार । 
मुक्तिनाथ विकास बैंकले आ.व. २०७७/७८को चैत मसान्तसम्ममा १ अर्ब ५६ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । बैंकले प्रकाशित गरेको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार विकास बैंकहरुमा सवैभन्दा बढी कमाउन सफल छ ।

प्रकाशित तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार मुक्तिनाथ नेपालको बैंकिङ्ग इतिहासमा विकास बैंकहरू मध्ये खुद नाफामा अर्बपति क्लबमा पुग्न सफल पहिलो विकास बैंक बनेको हो ।

गत आर्थिक वर्षको सोही अवधिसम्म बैंकले ६७ करोड ६० लाख ३४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अहिले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १ अर्ब ५६ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत सालको तुलनामा ४७.७५ प्रतिशतले बढी हो ।

बैंकको खुद नाफा उकालो लागेसँगै बैंकको प्रति सेयर आम्दानी पनि उकालो लागेको छ । बैंकको प्रतिसेयर आम्दानी ९ रुपैयाँ १४ पैसा बढेर २७ रुपैयाँ ८७ पैसा पुगेको छ । त्यस्तैगरी, बैंकको वितरण योग्य मुनाफा ८२ करोड ८७ लाख १९ हजार रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षका तुलनामा चुक्ता पुँजी ११.२५ प्रतिशतले बढेको छ । त्यस्तैगरी जगेडा कोष २४.९७ प्रतिशत बढेको छ भने निक्षेप ४३.५० प्रतिशत र कर्जा ५०.७६ प्रतिशतले बढेको बैंकको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा उल्लेख छ । दोस्रो त्रैमासमा रहेको निष्क्रिय कर्जा ०.३० प्रतिशतबाट घटेर तेस्रो त्रैमासमा ०.२१ प्रतिशत पुगेको छ । 

यस आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकको लाभांश दिने क्षमता १७.२२ प्रतिशत रहेको छ भने गत आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकको लाभांश दिने क्षमता ८.९७ प्रतिशत रहेको थियो । बैंकले लघु तथा साना उद्यमीहरु लक्षित गरी उत्पादन मूलक क्षेत्रमा लगानीलाई प्राथमिकतामा राखेको छ । बैंकको कुल कर्जामा ५० प्रतिशत हिस्सा २० लाख मुनिको र ३३ प्रतिशत हिस्सा १० लाख मुनिको कर्जाहरू रहेको छ ।

शाखा सञ्जाल विस्तारको क्रमलाई बैंकले निरन्तरता दिएको जनाउको छ । हाल यस विकास बैंकको १५६ शाखाहरु सञ्चालनमा रहेका छन् भने सम्भाव्य अन्य क्षेत्रमा शाखा विस्तारको क्रमलाई जारी राखेको बैंकले जनाएको छ । विकास बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भिसा नेटवर्क अन्तर्गतको जुनसुकै बैंकको एटीएम मेसिनबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

त्यसैगरी, मोबाइल बैकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता आधुनिक प्रविधिमा आधारित सेवाहरु बैंकको शाखामा उपस्थित नभई घरबाट नै गर्न सकिने व्यवस्था बैंकले गरेको छ ।