ग्लोबल आइएमई लघुवित्त र स्पर्स लघुवित्तको एकीकृत कारोबार सुरु

ग्लोबल आइएमई लघुवित्त र स्पर्स लघुवित्तको एकीकृत कारोबार सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार । 
स्पर्श लघुवित्तलाई प्राप्ति गरेपछि ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले आज बुधबारबाट एकीकृत कारोबार सुरु गरेको छ। 

लमजुङको बेसीसहर–८ केन्द्रीय कार्यालय भई राष्ट्रियस्तर कार्यक्षेत्र भएको ग्लोबल आइएमई लघुवित्तले कास्कीको पोखरा महानगरपालिका–२६ केन्द्रीय कार्यालय भएको स्पर्स लघुवित्तलाई प्राप्तिपश्चात ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गरेको हो। एकीकृत कारोबारको सुरुआतसंस्थाको केन्द्रीय कार्यालय पोखरा–२६ बाट सुरु गरिएको थियो। 

एकीकृत कारोबार शुभारम्भ कार्यक्रम ग्लोबल आइएमई लघुवित्तको सञ्चालक समितिका अध्यक्ष बुद्धि अकेलाको अध्यक्षता र ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन संस्थाका नि. प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले गरेका थिए। कार्यक्रममा संयुक्त प्राप्ति समितिका संयोजक एवं संस्थाका सञ्चालक रुपेन्द्र वाग्लेले स्वागत मन्तव्य राखेका थिए। 

एकीकृत कारोबारपश्चात संस्थाको कुल चुक्तापुँजी ४३ करोड १७ लाख २० हजार ४११ रुपैयाँ, कुल कर्जा लगानी ६ अर्ब १४ करोड ६३ लाख १० हजार रुपैयाँ, निक्षेप तथा बचत २ अर्ब ३ करोड ६९ लाख ४९ हजार ६२० रुपैयाँ रहेको छ भने देशका विभिन्न ५१ जिल्लाका ९९ वटा शाखा कार्यालयहरुमार्फत वित्तीय सेवा प्रदान भइरहेका छन्। संस्थाको कुल ग्राहक सदस्य १ लाख २३ हजार ४१३ जना रहेका छन भने ६३ हजार २९० जना ऋणी सदस्यहरुले विभिन्न शीर्षकअन्तर्गत कर्जा सुविधा उपभोग गरिरहेका छन्।

कार्यक्रमका प्रमुख अतिथि बज्राचार्यले लघुवित्त क्षेत्रमा डुप्लिकेसन समस्या रहेको र त्यसको निराकरणको उपायमध्येको एक उपाय मर्जर तथा प्राप्ति नै रहेको बताए। उनले मर्जर तथा प्राप्तिले सफल र सुदृढ संस्था हुन तथा नेपाल राष्ट्र बैंकको नीतिलाई पनि सहयोग पुग्ने बताए।