‘नबिलको ‘अग्रेसिभ अर्गानिक ग्रोथ’ ग्राहकको विश्वासमा निर्भर छ’

‘नबिलको ‘अग्रेसिभ अर्गानिक ग्रोथ’ ग्राहकको विश्वासमा निर्भर छ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुजित शाक्य, नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ), नबिल बैंक  

सुजित शाक्य नबिल बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)मा नियुक्त भएको धेरै लामो समय भएको छैन । ग्लोबल आईएमई बैंकमा कार्यरत उनी तत्कालीन जनता बैंक र ग्लोबल आईएमई बैंक मर्ज भएपछि नबिल प्रस्थान गरेका हुन ।  त्यसवखत थुप्रै बैंकरहरुले ग्लोबल छाडे । त्यसै लहरमा सुजित शाक्य पनि राजीनामा बुझाए । अहिले उनी नबिलमा खुशी भएको किस्सा सुनाउँछन । सुजितसँग हिमालयन, एनआइसी, बैंक अफ एसिया नेपालमा काम गरेको अनुभव छ। उनी एनबी बैंकसँग मर्ज भएको श्रीलंका फाइनान्समा पनि थिए। करिब २५ वर्ष  बैंकिङ्ग क्षेत्रमा राम्रो अनुभव बटुलेका उनीसँग नबिल बैंकको पछिल्लो वित्तिय अवस्था, सफलताको कारण, डिजिटल रुपान्तरणलगायतका विषयमा बैंकिङ्ग समाचारका मनोज रेग्मीले गरेको कुराकानीः 

नबिल बैंकको पछिल्लो आठ महिनाको तथ्याङकलाई केलाउँदा सबैंभन्दा धेरै नाफा कमाएको देखिन्छ । यो सफलता के कारणले भएको भन्नेमा विश्वास गर्नुहुन्छ ?

नबिल बैंक निजि क्षेत्रको सबैंभन्दा पुरानो बैंक हो । स्थापना कालदेखिनै सर्वाधिक ग्राहकहरुको माया, सञ्चालकहरुको आवश्यक सहकार्य र कर्मचारीहरुको लगनशिलताले गर्दा आज बैंक यो स्थानमा छ । यी तीन चिजको समिश्रणले बैंकलाई थप बलियो बनाएको हो । पछिल्लो एक वर्षमा बैंकले आफ्ना रणनितिहरु बद्ल्दै, शाखाहरु थप्दै अगाडी बढेको छ । विगतमा बैंकका शाखा संख्या कम थिए तर अहिले ११९ वटा पुगेको छन । यसले गर्दा पनि हामी अझ धेरै ग्राहकहरुसम्म पुगेका छौँ र बजारमा धेरै विश्वास जित्न सफल भएका छौँ । फेरि नेपाल राष्ट्र बैंकका निर्देशनहरु र रणनितिहरुलाई पालना काम गर्दा बैंक सक्षम भएको हो । यही कारणले नबिल आजको सफलतासम्म पुगेको हो जस्तो लाग्छ । 

नबिललाई डिजिटल बैंक बनाउन तपाईहरु तिब्र रुपमा लाग्नुभएको देखिन्छ । यसको थप प्रोत्सानका लागि बैंकका आगामी रणनितिहरु के–के रहन्छन ? 

डिजिटल बैंकिङ्ग तर्फको यात्रा त्यती धेरै सजिलो छैन । नबिल बैंकले ढिलो मात्रै डिजिटल बैंकिङ्ग सुरु गरेपनि यसको बारेमा छुट्टै प्रकारले सोचेको छ । कुनै पनि कम्पनीमा नयाँ चिजको सुरुवात गर्नलाई अलगै पूर्वाधारको आवश्यकता पर्दछ । त्यसैलै डिजिटाइजेनमा काम गर्नको लागि हामीले ‘डिजि बैंक’को स्थापना गर्यौ । डिजि बैंकले डिजिटल बैंकिङ्गमा आवश्यकता पर्ने सम्पूर्ण स्रोत साधनहरु परिचालन गर्दछ । यस्तै डिजिटल बैंकिङ्गमा मुख्यतः दुईवटा कुरा पर्दछन । एउटा कर्मचारीहरुको लागि डिजिटल ‘वर्कप्लेस’ र अर्को ग्राहकहरुको लागि ।

कर्मचारीहरुको लागि डिजिटल बैंक (डिजिटल वर्कप्लेस) को परिकल्पनामा ‘पेपरलेल अफिस’, ‘वर्क फर्म होम’, ‘रियल टाइम पर्फमेन्स ट्रयाक’ भन्ने जस्ता विवरणहरु पर्दछन । हामीले डिजिटल बैंकिङ्गमा ग्राहकहरुको प्रयोग र आवद्धतालाई हेर्नुपर्दछ । ग्राहकहरुले बैंकसँग सम्पर्क गर्दा अथवा उनीहरुले लिने बैंकका सेवा तथा सुविधाहरुमा प्रविधिको विकास कसरी गर्न सकिन्छ र उनीहरुको ब्यहोरा हेरेर कस्तो खालको प्रोडक्ट आवश्यक पर्दछ भन्ने हामीले बुझ्नु पर्दछ । डिजिटल बैंकिङ्गको उत्थान र प्रोत्सानमा हामीले थुप्रै कामहरु पनि गरीरहेका छौँ । यसको परिणाम पनि विस्तारै आउन थालेको छ । बैंकले ‘इन्टरनल अटोमेसन’ को साथसाथै ‘ओमीनी च्यानल’ (डिजिटल बैंकिङ्ग सफ्टयर’ लाई ग्राहरुसँगको सहभागीता बढाउने कामको थालनी गरेको छ । सबै त्यस्ता उपकरणहरुलाई ‘एप’बाट जोड्ने प्रयास गरेका छौँ ।  

क्युआर कोड वितरण गर्न यतीबेला बैंकहरुबीच तिब्र प्रतिस्पर्धा देखिएको छ । तर उपयुक्त पूर्वाधार नहुँदा प्रयोगकर्ताहरुले यसको प्रयोग गर्न असक्षेम देखिन्छन । यो त खाए खा नखाए घिच भनेजस्तो भएन र ? 

हामीले वित्तिय साक्षरताको कुरा गर्छौ, वित्तिय पहुँचको कुरा गर्छौ । यसबीचमा जोडीएको वित्तिय समावेशीकरण (फाइनान्सियल इन्क्लुजन) को पनि हामी कुरा गर्छौ। वित्तिय समावेशीकरणमा काम गर्दा क्युआर कोडको अवधारणा आएको हो । क्युआर प्रयोग गरी भूक्तानी गर्दा नगदको प्रयोग गर्नु पर्दैन । क्युआर प्रयोगका थुप्रै फाइदाहरु छन । ‘क्यासलेस’ समाजको निर्माण, खुद्रा पैसाको कम कारोबार, कोभिड–१९ जस्ता अन्य थुप्रै भाइरसबाट बच्ने उपाय पनि। क्युआर वितरण गरी बैंकहरुले तत्कालै नाफा कमाईहाल्ने भन्ने होइन । तर प्रविधिको विकास र यसको प्रयोग बढाउनको लागि बैंकहरु किन लागिरहेका छन त । यसको प्रयोग बढाउँदा प्रयोग गर्न जान्नेले त जानिहाल्छन तर नजान्नेले पनि सिक्छन भन्ने बैंकिहरुको उद्देश्य हो ।

पूर्वाधारको कुरा गर्दा नेपालका धेरैजसो ठाउँहरुमा मोवाईल नेटवर्कहरु उपलब्ध छन । त्यहाँ यसको प्रयोग गर्न सजिलै सक्छौँ । ग्राहकको सन्तुष्टिको लागि हामीले काम गरेको हो । यसमा उहाँहरुको पनि केही योगदान पक्कै चाहिन्छ । सामाजिक सञ्जाल चलाउनलाई ‘डाटा’ खर्च गर्न राजी हुने तर क्युआर चलाउन ‘नेटवर्क’ नहुँने भन्ने हुँदैन । मलाई लाग्छ विश्वसनीय र सरल बैंकिङ्गसुविधा पाउने हिसाबमा ‘डाटा’मा लाग्ने खर्च थोरै हो । जस्तै समय लाग्ने गरी, पेर्टोल खर्च गरी बैंकका शाखामा धाउँदा फाइदा कि मोवाईल बैंकिङ्ग प्रयोग गर्दा ? यो ग्राहकको मानसिकता पनि भर पर्ने कुरा हो । यसलाई हामीले प्रोत्सान गरेरै लैजानै पर्छ । आजको दिनमा क्युआरको प्रयोग सामान्यस रेस्टुरादेखि, होटल, तरकारी बजार, अटोमा, टेम्पोमा, बसमा गल्लीका हरेक पसल–पसलसम्म पुगेको छ । ‘क्यासलेस’ समाजको विकास र बैंक–ग्राहकबीचको आवद्धता अहिलेको आवश्यकता हो । अहिलेको अवस्था हेरेर ग्राहकहरुले पनि यस्तै अनुभव रहेको बुझिन्छ । 

अलिकती वित्तिय परिसूचकको कुरा गरौं । आजको दिनमा नबिल बैंकको स्थिती कस्तो छ ? 

गत आर्थिक वर्षको असार मसान्तसम्मा हाम्रो ‘लेन्डिङ्ग फिगर’ १५३ अर्ब थियो भने अहिले बढेर १९३ अर्ब पुगिसकेको छ । पछिल्लो तथ्यांक हेर्ने हो भने नबिलको निक्षेप संकलन २ सय १४ अर्ब रुपैयाँ पुगिसकेको छ । यो आर्थिक वर्षको पुस मसान्तसम्मको तथ्याङक हेर्दा निष्क्रिय कर्जा ०.६ प्रतिशत मात्रै छ । दोस्रो त्रैमासिकमा नबिल बैंकले २ अर्ब भन्दा बढि नाफा कमाइसकेको छ भने तेस्रो त्रैमासिकको अन्तसम्मा त्यो भन्दा राम्रो हुने देखिन्छ । बैंकको प्रगती अन्यन्तै राम्रो छ । अहिले जुन प्रकारको ‘लेन्डिङ्ग ग्रोथ’ हामीले गरेका छौँ प्रति शाखाको आधारमा हेर्ने हो भने बैंकिङ्ग क्षेत्रकै सबैभन्दा धेरै हो । हामीसँग अहिले ११९ वटा शाखा कार्यालयहरु छन । त्यसैबाट हामीले व्यापार विस्तार गरेको हो । अझ प्रष्ट रुपमा भन्दा यसपाली नबिल बैंकको करिब ७० प्रतिशत ‘ग्रोथ’ ‘रिटेल एसएमयी’ (साना तथा मध्यम वर्गिय व्यवसायी) बाटै आएको छ ।  त्यसैले नबिल बैंकको प्रगती आजको अवस्थामा उत्तम अवस्थामै छ । 

कोभिड–१९ को महामारिका बेला बैंक तथा वित्तिय संस्थाहरुले भोग्नुपरेका समस्याहरु के–के हुन ? आगामी दिनमा फेरि यस्तै भयो भने समस्याहरु कसरी कम गर्ने ? 

हामी नेपालीहरु ‘रिजलियन्ट’ (अफ्ठ्यारो स्थितीमा पनि बाँच्न सक्ने क्षमता) छौँ । भुकम्प, नाकाबन्दी, कोभिड जस्ता महामारीमा पनि नेपालीहरु बाँच्न जानेका छन । हामीले खाने खाना र वातावरणले पनि यस्तो भएको होला । भुकम्पपछिका वर्षहरुमा पनि देशको अर्थतन्त्र राम्रै चलिरहेको थियो । तर कोभिडको कारणले फेरि देशको अर्थतन्त्र खस्किने अवस्थामा छ । कोरोना महामारीमा धेरै गाह्रा, अफ्ठ्यारा कुराहरु भए । हाम्रै बैंकका ३५० जना कर्मचारीहरुलाई कोरोना संक्रमण देखियो । तर अहिले निको भएर १ जनामा मात्रै कोरोना संक्रमण देखिएको छ । यसकारणले पनि बैंकका कामकार्यमा बाधा आइहाल्ने भयो । कोरोना महामारीकै बीचमा शाखाहरु बन्द गर्नुपर्ने अवस्था भयो । स्टाफहरुको लागि सवारी अनुमती लिनै गाह्रो थियो । कतिपय कर्मचारी अस्पतालमा, कतिपयका परिवारमै लाग्यो । त्यसवखत अत्यान्तै तनावको अवस्था थियो । यो हाम्रो बैंकको लागि नभई सबैं बैंक तथा वित्तिय संस्थाहरुको लागि अत्यन्तै अफ्ठयारो समय बन्यो । 

\"\"

अत्यावश्यक सेवामा पर्ने भएकाले हामीले निश्चित शाखाहरु समय मिलाएर खोल्यौं र सेवा दियौँ । यस्ता व्यावधानहरु हामीले पार गर्यौ । कोभिडले हामीलाई पाठ पनि सिकाएको छ । जतिसुकै बाधा अवरोध भए पनि हामीले केही गरी सेवा प्रदान गर्नुपर्छ । चाहे जनताका घर–घर पुगेर होस या ‘वर्क फर्म होम’ को अवधारणा लागु गरेर हामीले सेवा दिनै पर्छ भन्ने हामीलाई लाग्यो । लामो लकडाउन र तिब्र संक्रमणका कारण ब्यापार व्यवसायहरु पनि ठप्प भए । बन्दाबन्दीमा आर्थिक कारोबार पनि अत्यन्तै कम भयो । यसकारण नियमनकारी निकायको निर्देशनमा ब्याज छुट देखि सहुलियतसम्ममा हामीले खुकुलो भई काम गर्यौ । अझै पनि कोरोना पूर्ण रुपममा सकिएको छैन र दोस्रो लहरको कुरा पनि छ तैपनि अलिक सहज वातावरण सिर्जना हुँदा बैंक तथा वित्तिय संस्थाहरु पनि विस्तारै लयमा फर्कदै छन । आगामी दिनमा पनि यस्तै खाले माहामारी आउँदा पनि नेपालीहरुले व्यापार व्यवसायलाई अगााडी बढाउन सक्ने क्षमता झन वृद्धि भएको मैले देखेको छु । 
कृषि, पर्यटन तथा उर्जाका क्षेत्रमा लगानी गर्न राष्ट्र बैंकले बेला–बेलामा निर्देशन दिन्छ । तर कृषि तथा उर्जामा बैंकहरुको लगानी अलिक कम देखिन्छ । के कृषि क्षेत्रमा लगानी गर्न बैंकहरु डराएका हुन ? 

दक्षीण एशियाली क्षेत्रमा हेर्दा हाम्रो केन्द्रीय बैंक सबैभन्दा सक्षम देखिन्छ । राष्ट्र बैंकले दिएका हरेक निर्देशनहरु नबिल बैंकले पूर्ण रुपमा पालना गर्दै आइरहेको छ । साँचिकै नियमनकारी निकाय राष्ट्र बैंकले विगतका केही वर्षहरुमा सबै बैंकहरुलाई कृषिमा लगानी गर्नुपर्छ, कृषि कर्जा दिनुपर्छ, कृषिमै केन्द्रीत हुनुपर्छ भन्ने खालका निर्देशनहरु दिँदै आइरहेको छ । त्यसैले विगतका दिनहरुमा भन्दा अहिले  कृषिमा लगानी र यसमा दिइने कर्जा बढेको छ । साथसाथै व्यवसायिक कृषि कार्यक्रमहरु पनि विस्तारै बढ्दै गइरहेको हामीले पाएका छौँ । कृषि तथा उर्जाका क्षेत्रमा नबिल बैंकले नियमनकारी निकाय नेपाल राष्ट्र बैंकको निर्देशन पालन गर्न सक्नेगरी काम गरिएको अवस्था छ । नबिल बैंकले पनि यस्ता खाले कर्जाहरु दिनलाई सधैं तत्पर रहन्छ । 

बैंकहरुलाई सधैँ टाउको दुखाईको विषय बन्ने खराब कर्जा कोभिडका कारण अलिक बढेको देखिन्छ । नबिल बैंकको अवस्था कस्तो छ ? 

समग्रमा केही बढेको हुनसक्छ। हाम्रो पहिलो त्रैमासिकको विवरण र गत वर्षको पहिलो त्रैमासिकको रिपोर्टमा ‘नन–परफमिङ्ग’ क्षेत्र ०.६५ प्रतिशतमा थियो । तर दोस्रो त्रैमासमा घटेर ०.६ मात्रै छ। बजारमा नबिल बैंक एकदमै विश्वास बोकेको बैंक हो । नबिलसँग भएका ग्राहकहरु अत्यन्तै ‘क्रिम’, सवल र सक्षम छन । ब्याज तिर्नै नसक्ने भन्ने खालका ग्राहकहरु हामीसँग छैनन ।  त्यसैले ब्याज राम्रै उठेको छ ।

\"\"

राष्ट्र बैंकको निति अनुसार मर्ज/एक्वाएर वा विदेशी साझेदारी भित्रयाउने योजनामा यतिबेला थुप्रै बैंकहरु लागिरहेको पाइन्छ ? यसमा नबिल बैंक पनि लागिरहेको छ । बंग्लादेश बैंकसँग कुरा नमिलेपछि अब कोसँग छलफल गर्ने योजनामा हुनुहुन्छ ? 

अहिले नबिलको प्रगति हेर्ने हो भने हामीले ‘अग्रेसिभ अर्गानिक ग्रोथ’ गरेका छौँ । मर्जर तथा एक्युजिसनको कुरा गर्दा बैंकको व्यवस्थापन भन्दा सञ्चालकहरुसँग बढि सम्बन्धीत हुन्छ । हामीले त सामान्य सुझाव मात्रै पेश गर्ने हो । त्यसैले यसको आवश्यक्ता भन्दा पनि कुनै राम्रो संस्था पाएको खण्डमा किन नगर्ने ? भन्ने योजनामा नबिल बैंक छ । मर्जर/एक्वाएर त्यती सजिलो पनि छैन । सामान्य सवांदले यो हुने पनि होइन । धैरै योजना र पटक–पटकको छलफलबाट यो हल हुने हो । 

अन्तराष्ट्रिय स्तरमा कतिपय मुलुकको उदाहरण हेर्दा आर्थिक मन्दी देखिन थालेको छ । अझ अर्थशात्रीहरुले त यसको प्रभाव बढ्दै जाने अनुमान लगाइरहेका छन् । नेपालमा के होला ? 

एक समयमा कोभिड–१९ ले सारा संसार नै ठप्प पारेको अवस्था हो । त्यसैले अन्य मुलुकमा हुने हाम्रोमा नहुने भन्ने हुँदैन । पछिल्लो आर्थिक वर्ष हेर्ने हो भने हामी ४ महिना ठप्पै भयौं । त्यसकारण त्यसको प्रभाव आर्थिक पाटोसँग जोडिएर आउँछ । वर्तमान अवस्थाको कुरा गर्दा हामीले सम्पूर्ण पोर्टफोलियोलाई रेड जोन(अती प्रभावित), एम्बर जोन (मध्यम प्रभावित) र ग्रिन जोन (कम प्रभावित) गरि ३ क्षेत्रमा विभाजन गरिएको हुन्छ । यातायात तथा पर्यटकीय क्षेत्रहरु रेड जोनमा पर्दछन किनकी आजको दिनमा यात्रा जोखिमपूर्ण छ । आज ठमेल गयौँ भने त्यहाँ  विदेशी पर्यटक छैनन खाली–खाली नै छ । चितवन–पोखरा गयौं भने घरेलु पर्यटकहरु त केही हदसम्म देखिन्छ । त्यसैले बन्दाबन्दीको अवस्था भएर आर्थिक कारोबार नै नभएको अवस्थाले त अर्थतन्त्रमा प्रभाव पारिनैहाल्छ । तर दक्षीण एशीया क्षेत्रमा हेर्दा, विश्लाई हेर्दा पछिल्लो आर्थिक वर्षमा जस्तो खालको खराब आर्थिक वृद्धिदरको प्रक्षेपण गरिएको थियो पछिल्लो समय त्यस्तो भएको छैन । त्यसैले हामी अन्य मुलुकहरुको तुलनामा राम्रो अवस्थामा छौँ । विश्व बैंकले पनि नेपालको कुल ग्राहस्थ उत्पादन नेपालको २ प्रतिशतसम्म हुने प्रक्षेपण गरेको छ । पहिलो कोभिड–१९ को महामारीको अवस्था त हामीले झेलीसक्यौं । अब फेरि द्रोस्रो ‘वेभ’ को चर्चा सुरु भएको छ । फेरि त्यस्तै कडा महामारी आयो भने त भन्न सकिन्न तर अहिलेको अवस्थामा हेर्दा हामी राम्रो अवस्थामा छौँ । 

अन्तमा: आम ग्राहकहरुलाई के भन्न चाहानुहुन्छ ? 

आम ग्राहकहरुको माया, साथ, सहयोग र सहयात्राले गर्दा नबिल बैंक अगाडी बढेको छ । हरेक ग्राहकहरुको भविष्यका पाइलाहरुमा नबिल बैंक साथ दिन तयार छ । हाम्रो बैंकको नारा नै ‘टुकेदर अहेड’ भन्ने छ । ग्राहकहरुको सहकार्यसँगै विभिन्न किसिमका नयाँ सेवा र सुविधा ल्याउन नबिल बैंक तत्पर रहन्छ । ग्राहकहरुबाट आएका हरेक सुझावलाई हामीले शिरोपर गरी आफ्ना सेवा र सुविधाहरुलाई सुधार्ने कोशिस गर्नेछौँ । ग्राहकहरुको विश्वास अझ बढाउँदै हामी अगाडी बढ्न चाहान्छौँ । 

भिडियो