बैंक तथा वित्तीय संस्था परिसंघको अध्यक्षमा पौडेल

बैंक तथा वित्तीय संस्था परिसंघको अध्यक्षमा पौडेल


काठमाडौं ।
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) को अध्यक्षमा उपेन्द्र पौडेल निर्वाचित भएका छन् । बुधबार बसेको परिसंघको १५ औं बैठकले पौडेललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

पौडेल विगत तीन दशकदेखि बैंकिङ क्षेत्रमा क्रियाशील छन् । सन् १९८६ मा स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट बैंकिङ सेवामा प्रवेश गरेका पौडेलले एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समेत बहन गरेका थिए । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृतबाट अवकाश लिए पश्चात उनी नबिल बैंकको सञ्चालक हुँदै हाल अध्यक्षको जिम्मेवारीमा रहेका छन् ।

पूर्व अध्यक्ष पवनकुमार गोल्यानले पदबाट राजीनामा दिएपछि पौडेल अध्यक्ष चुनिएका हुन् । गोल्यानले एनएमबि बैंकको आसन्न साधारण सभाबाट बैंकको सञ्चालक समितिबाट अलग हुने पूर्वजानकारीसहित संस्थाको विधानको भावना र मर्मलाई आत्मसाथ गर्दै पदीय आचरण र नैतिकताका आधारमा गोल्यानले अध्यक्ष पदबाट राजीनामा दिइएको बताइएको छ ।

अध्यक्ष गोल्यानकै विशेष अगुवाईमा वि.सं २०७६ सालमा सीबीफीनको स्थापना भएको थियो । नेपालको बैंकिङ क्षेत्रमा दुई दशकभन्दा लामो अवधिदेखि निरन्तर क्रियाशील हुँदै आएका गोल्यानको नेपालको बैंकिङ क्षेत्रको विकास एवं विस्तारमा समेत अतुलनीय योगदान रहेको छ । राष्ट्रिय आवश्यकता र आमजनताको अपेक्षाबमोजिम स्वदेशी उत्पाकत्व अभिवृद्धि, उपयोग एवं निर्यात, उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार, रोजगारी, नवप्रवर्तनको विकास, घरेलु, साना तथा मझौला उद्यमी तथा व्यवसायको पुनरुत्थानसहित राष्ट्रिय अर्थतन्त्रलाई सवल, सुदृढ र आत्मनिर्भर उन्मुख बनाउन गोल्यानले अहम् भूमिका समेत निर्वाह गर्दै आएका छन् ।