मुगु- सरकारले मुगुमा आउने नूनको कोटा नबढाउदा मुगालीहरुले प्रयाप्त मात्रामा नून पाउन सकेका छैनन् । पछिल्लो १२ वर्षदेखि नूनको कोटा बढेन नबढेको भन्दै सरोकारवाला निकायले कोटा बढाउन माग गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय मुगुको आयोजनामा मङ्गलबार बसेको सर्वदलीय सर्वपक्षीय बैठकमा जनताले नूनको लागि सास्ती पाउनुका साथै आवश्यकता अनुसारको नून नपाएको गुनासो उठेको थियो ।
बैठकमा नेपाली कांग्रेस मुगुका उपसभापति कर्णबहादुर रावलले नून दिँदा नागरिकताको फोटोकपी खोज्ने र स्वम् व्यक्ति उपस्थित हुनुपर्ने प्रावधानले जनताले सास्ती पाएका बताए । मागअनुसार नून नपाउँदा कयौँ दिन अनिलो खाना खानु परेको गुनासो आउने गरेकाले नूनको कोटा बढाउन र माग अनुसारको नून पाउने व्यवस्था गर्न पहल गर्नुपर्नेमा उनले जोड दिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष राजबहादुर मल्लले नागरिकता देखाएर पाँच पाकेट नून पाइने भन्दै ५० को नून लिन सदरमुकाम बाहिरका जनताले ५ सय बढी खर्च गर्नु परिरहेकाले वडास्तरबाटै नून वितरणको व्यवस्था मिलाउन सुझाव दिए ।
नीतिगतरुपमा वडाबाट नून वितरणको प्रावधान भए आफूहरु वडाबाट वितरण गर्न तयार रहेको छायानाथ रारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुपति शाहीले बताए ।
बैठकमा उठेका प्रश्न तथा गुनासोबारे आफू जानकार भएको प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले बताए । उनले जिल्लामा २०६८ सालको जनसङ्ख्यालाई आधार मानेर प्रति व्यक्ति पाँच पाकेटका हिसाबले कोटा निर्धारण गरी नून उपलब्ध हुँदै आएको जानकारी दिइन्।
‘नूनको कोटा २०६८ को जनगणना अनुसार छ । सरकारले २०७८ को जनगणना अनुसार कोटा निर्धारण गर्नुपर्छ । कोटा पुरानो, जनसङ्ख्या नयाँ भएकाले पनि थप समस्या भएको हो’, प्रजिअ केसीले भने, पहिला जिल्लामा कम जनसङ्ख्या थियो, अहिले बढे्को छ । बढे्को जनसङ्ख्याका आधारमा नूनको कोटा निर्धारण हुनु पर्दछ ।’
केसीका अनुसार २०७८ को जनगणना अनुसार जिल्लाका लागि नूनको कोटा निर्धारण गर्न मन्त्रालय र साल्टट्रेडिङ कर्पोरेसनलाई अनुरोध गर्दै सर्वपक्षीय बैठकबाट निर्णय गरेर पठाउन सर्वपक्षीय बैठकको आयोजना गरिएको हो । सरकारले जिल्लाका लागि दुई हजार नौ सय ७० क्विन्टल नून वार्षिक कोटा छुट्याउँदै आएको छ ।
पालिका अनुसार हेर्दा खत्याड र सोरु गाउँपालिकाका लागि वार्षिक एक हजार सात सय ७० क्विन्टल र मुगुम कार्मारोङ गाउँपालिका र छायानाथ रारा नगरपालिकाका लागि एक हजार दुई सय क्विन्टल नून वार्षिक कोटा छुट्याइको प्रजिअ केसीले जानकारी दिए । उहाँका अनुसार २०६८ को जनगणना अनुसार यहाँको जनसङ्ख्या ५५ हजार दुई सय ८६ थियो भने २०७८ अनुसार जनसङ्ख्या बढेर ६४ हजार पाँच सय ४९ पुगेको छ ।



About Us
प्रतिक्रिया