बालकुमारी घटना छानबिनका लागि उच्चस्तरीय आयोग बनाइने


काठमाडौं– शुक्रबार बालकुमारीमा दुई जनाको ज्यान जानेगरी भएको घटनाका विषयमा छानबिन गर्न उच्चस्तरीय आयोग बनाउने सहमति भएको छ । आइतबार सत्ता साझेदार दलका शीर्ष नेताबीच भएको छलफलमा उक्त सहमति भएको हो ।

जाँचबुझ गर्न जाँचबुझ आयोग ऐन २०२६ को दफा ३ को उपदफा (२) बमोजिम पूर्वन्यायाधीशको अध्यक्षतामा उच्‍चस्तरीय जाँचबुझ आयोग गठन गर्नेसम्बन्धी प्रस्ताव ल्याउन प्रधानमन्त्रीले गृहमन्‍त्री नारायणकाजी श्रेष्ठलाई निर्देशन दिएका छन् ।

सोमबार बस्ने मन्‍त्रिपरिषद्‍को बैठकले आयोग गठनको औपचारिक निर्णय गर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएकाे छ ।

सत्ता साझेदार दलका शीर्ष नेताहरुसँग आइतबार भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छानबिन आयोग ऐन २०२६ अनुसार पूर्व न्यायाधीशको अध्यक्षमा उच्चस्तरीय आयोग बनाउने जानकारी दिएका हुन् ।