अब विदेशी विनिमय कारोबारको लाइसेन्स प्रदेशबाटै लिन मिल्ने, नवीकरण गर्न नपर्ने


काठमाडौं– नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार लाइसेन्स प्रदेशबाटै लिन मिल्ने व्यवस्था गरेको छ। विदेशी विनिमय कारोबार इजाजतपत्र (लाइसेन्स) तथा निरीक्षण विनियमाली २०७७ संशोधन गर्दै केन्द्रीय बैंकले उक्त व्यवस्था गरेको हो।

यसअघि यस्ताे कारोबारका लागि केन्द्रबाटै अनुमति लिनुपर्थ्याे। नयाँ व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले प्रदेशमा रहेको राष्ट्र बैंकको कार्यालयमा निवेदन दिइ लाइसेन्स लिन सक्नेछन्।

संशोधन विनियामलीअनुसार अब यस्तो कारोबारका लागि एकपटक लाइसेन्स लिए पुग्ने भएको छ। अर्थात्, त्यसलाई नवीकरण गर्न नपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

यसअघि विदेशी विनियम कारोबारका लागि बैंक तथा वित्तीय संस्थाले हरेक पाँच वर्षमा लाइसेन्स नवीकरण गर्नुपर्ने प्रावधान रहेको थियो।

लाइसेन्स प्राप्त बैंक तथा वित्तीय संस्थाले आफ्ना शाखाहरुबाट मात्रै नभएर अब एक्सटेन्सन काउन्टरबाट पनि विदेशी विनिमयको कारोबार गर्ने सक्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ।