गण्डकीमा शतप्रतिशत विद्युतीकरण गर्ने लक्ष्य छ : मन्त्री श्रेष्ठ


बागलुङ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङको निसेलढोरमा यसै वर्ष केन्द्रीय विद्युत् सेवा विस्तार गर्ने बताएका छन्। बागलुङको प्रसिद्ध पर्यटकीयस्थल ढोरपाटनमा बिहीबार केन्द्रीय विद्युत् सेवा पुगेको उल्लेख गर्दै उनले त्यसको करिब ११ किलोमिटर टाढा अवस्थित निसेलढोरमा पनि यसै वर्ष विद्युत् पुर्याउने लक्ष्य रहेको बताए।

यससँगै गण्डकी प्रदेशमा शतप्रतिशत विद्युतीकरण हुने उनको भनाइ थियो। बागलुङ नगरपालिका–१० स्थित दब्ल्याङ पहिरो निरीक्षणपछि मन्त्री श्रेष्ठले निसेलढोरमा विद्युत् विस्तारको काम अघि बढाइने बताएका हुन्।

‘चुनौतीका बीच ढोरपाटनमा केन्द्रीय विद्युत् पुगेको छ। त्यहाँबाट ११ किलोमिटर टाढा रहेको निसेलढोरमा सम्भवतः यसै वर्ष विद्युत् पुर्याउँछौँ। त्यसपछि गण्डकीमा शतप्रतिशत विद्युतीकरण हुन्छ’, उनले भने। मन्त्री श्रेष्ठले दब्ल्याङ पहिरोको दिगो समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाउँदै नियन्त्रणका लागि बायोइन्जिनियरिङ विधिसमेत अपनाउनुपर्ने बताए।