नेपाल पुनर्बिमाको पुँजी २० अर्ब पुर्‍याउँदा हिमालयन रिलाई पनि पुँजी बढाउने दबाब


काठमाडौं – नेपाल पुनर्बिमा कम्पनीले नियामकीय न्यूनतम चुक्ता पुँजी २० अर्ब रुपैयाँ पुर्‍याउन १६.९१ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ। सरकारले कम्पनीमा थप एक अर्ब रुपैयाँ लगानी गर्ने भएपछि हकप्रद शेयर निष्कासनको प्रस्ताव अघि बढाइएको हो। कम्पनीको सञ्चालक समितिको शुक्रबार बिहान बसेको बैठकले १६.९१ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव स्वीकृतिका लागि १०औँ वार्षिक साधारण सभामा पेस गर्ने निर्णय गरेको छ। कम्पनीले पुस ६ गते साधारण सभा बोलाएको छ। साधारण सभाका लागि मंसिर २४ गते बुक क्लोज गर्ने निर्णयसमेत गरेको छ।

कम्पनीको हालको चुक्ता पुँजी १३ अर्ब ४२ करोड रुपैयाँ छ। सरकारले थप एक अर्ब रुपैयाँ लगानी गर्ने भएपछि बाँकी पुँजी हकप्रद शेयरमार्फत जुटाउने योजना कम्पनीको छ। कम्पनीमा सरकारको हाल ४४.०३ प्रतिशत शेयर स्वामित्व छ। कम्पनीको चुक्ता पुँजी २० अर्ब रुपैयाँ पुर्‍याउने र सरकारको शेयर स्वामित्व नघट्ने गरी हकप्रद शेयरमा लगानी गर्न कात्तिक १७ गतेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयलाई स्वीकृति दिएको थियो।

नेपाल पुनर्बिमाले पुँजी वृद्धिको प्रक्रिया अघि बढाएसँगै अर्को पुनर्बिमा कम्पनी हिमालयन रिइन्स्योरेन्समाथि पनि पुँजी बढाउने दबाब थपिएको छ। नेपाल बीमा प्राधिकरणले दुवै पुनर्बिमा कम्पनीलाई न्यूनतम चुक्ता पुँजी २० अर्ब रुपैयाँ पुर्‍याउन निर्देशन दिएको छ। तर, नेपाल पुनर्बिमा हकप्रदमार्फत पुँजी बढाउने प्रक्रियामा अघि बढ्दा हिमालयन रिइन्स्योरेन्सको पुँजी वृद्धि योजना भने अझै अन्योलमा छ।

हिमालयन रिइन्स्योरेन्सको हालको चुक्ता पुँजी १० अर्ब ८६ करोड ८० लाख रुपैयाँ छ। २० अर्ब रुपैयाँ पुर्‍याउन कम्पनीले थप करिब नौ अर्ब १३ करोड २० लाख रुपैयाँ जुटाउनुपर्नेछ। कम्पनीले यसअघि नै चुक्ता पुँजीको ८० प्रतिशत अर्थात् आठ अर्ब ३२ करोड रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव साधारण सभाबाट पारित गरिसकेको छ। तर, नियामक बीमा प्राधिकरणको पूर्वस्वीकृतिबिना प्रक्रिया अघि बढाएको भन्दै प्राधिकरणले उक्त प्रस्ताव रोकेको थियो। त्यसयता हकप्रद निष्कासनको विषय टुंगिन सकेको छैन।

हिमालयन रिइन्स्योरेन्ससँग करिब तीन अर्ब १२ करोड रुपैयाँ शेयर प्रिमियम सञ्चित छ। त्यसैले कम्पनीले नियामकको स्वीकृति लिएर हकप्रद र बोनस शेयरको संयोजनबाट पुँजी बढाउने विकल्प अपनाउन सक्ने देखिन्छ। तर, कम्पनीको पछिल्लो वित्तीय अवस्थाले बोनस शेयरमार्फत मात्रै पुँजी वृद्धि गर्न सहज देखिँदैन।

आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्म हिमालयन रिइन्स्योरेन्सको खुद नाफा घटेको छ भने सञ्चित मुनाफासमेत ऋणात्मक छ। यस्तो अवस्थामा ठूलो परिमाणमा बोनस शेयर वितरण गरेर पुँजी बढाउने सम्भावना सीमित देखिन्छ। त्यसैले कम्पनीले हकप्रद शेयरलाई नै पुँजी वृद्धिको प्रमुख माध्यम बनाउनुपर्ने दबाब छ।

पुँजीसँगै व्यवसाय विस्तारको प्रतिस्पर्धा
नेपाल पुनर्बिमाको पुँजी वृद्धिले दुई कम्पनीबीचको प्रतिस्पर्धालाई थप पेचिलो बनाउने देखिन्छ। पुनर्बिमा व्यवसायमा ठूलो पुँजी हुनु जोखिम बहन गर्ने क्षमता विस्तारका लागि महत्त्वपूर्ण मानिन्छ। पर्याप्त पुँजी भएका कम्पनीले ठूलो जोखिम स्वीकार गर्न र अन्तर्राष्ट्रिय पुनर्बिमा बजारमा प्रतिस्पर्धा गर्न तुलनात्मक रूपमा बढी क्षमता राख्छन्।

यसैबीच, स्वदेशी बीमा कम्पनीहरूले अनिवार्य रूपमा दिनुपर्ने प्रत्यक्ष पुनर्बिमा व्यवसायको हिस्सा क्रमशः घटाउँदै लैजाने नीतिले पनि दुवै कम्पनीको प्रतिस्पर्धालाई नयाँ चरणमा पुर्‍याउनेछ। चालु आर्थिक वर्षको बजेटमार्फत राष्ट्रिय बीमा पुल सञ्चालनको जिम्मेवारीसमेत नेपाल पुनर्बिमा कम्पनीलाई दिइएको छ।

हिमालयन रिइन्स्योरेन्सले व्यवसाय विस्तारका लागि अन्तर्राष्ट्रिय पुनर्बिमा बजारमा आफ्नो प्रतिस्पर्धात्मक क्षमता बढाउनुपर्ने चुनौती छ। यसरी नियामकीय पुँजी पुर्‍याउने विषयसँगै दुवै कम्पनीबीच पुँजीगत क्षमता, जोखिम बहन गर्ने सामर्थ्य र व्यवसाय विस्तारको प्रतिस्पर्धा पनि बढ्ने देखिएको छ। नेपाल पुनर्बिमाले सरकारी लगानीसहित हकप्रद निष्कासनको प्रक्रिया अघि बढाउँदा हिमालयन रिइन्स्योरेन्सलाई पनि पुँजी वृद्धिको स्पष्ट योजना ल्याउन दबाब परेको छ।