अफलाइन पठाओको बहानामा यात्रुको सामान लिएर फरार हुने हरिबहादुर पोखरेल पक्राउ


काठमाडौं – काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा पठाओको बहानामा यात्रुहरूको सामान डेलिभरी गरिदिने भन्दै सामान लिएर फरार हुने एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका–११ स्थायी घर भई काठमाडौंको बानियाटार बस्ने ६१ वर्षीय हरिबहादुर पोखरेल रहेका छन्।

काठमाडौंको बसपार्क क्षेत्रमा उपत्यकाबाहिरबाट आएका विभिन्न यात्रुहरूलाई आफू पठाओ स्कुटर चालक भएको भन्दै सामान गन्तव्यसम्म पुर्‍याइदिने आश्वासन दिएर सामान लिई फरार हुने गरेको भन्ने जनगुनासो प्राप्त भएपछि प्रहरीले खोजतलास सुरु गरेको थियो।

प्रहरी प्रभाग गोंगबु र प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा मंसिर १० गते बिहान करिब ५ बजे काठमाडौं महानगरपालिका–२६ स्थित नयाँ बसपार्कबाट पोखरेललाई पक्राउ गरेको हो। प्रहरीले उनलाई  स्कुटरसहित नियन्त्रणमा लिएको हो। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।