१६ लाख बढी मूल्यको चिनियाँ युआनसहित दुई चिनियाँ नागरिक पक्राउ


काठमाडौं – प्रहरीले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– २ स्थित अस्थायी प्रहरी पोष्ट १० किलो अगाडि चेकजाँचका क्रममा चिनियाँ नागरिकको साथबाट १६ लाख ६ हजार ८०० रुपैयाँ बराबरको ६६ हजार ९५० युआन बरामद गरेको छ। 

इलाका प्रहरी कार्यालय कोदारी र अस्थायी प्रहरी पोष्ट १० किलोबाट खटिएको संयुक्त प्रहरी टोलीले कोदारीबाट काठमाडौं जाँदै गरेको बीएसी ५२५३ नम्बरको स्कारपियो गाडी जाँच गर्ने क्रममा उक्त रकम बरामद गरेको हो। गाडीको बीचको सिटमा सवार ५१ वर्षीय चिनियाँ नागरिक सिरेनु ओजीले बोकेको कालो रङको झोलाभित्र लुकाइराखेको अवस्थामा उक्त रकम फेला परेको थियो।

बरामद रकममा १०० युआन दरका ६६७ थान र ५० युआन दरका ५ थान गरी जम्मा ६६ हजार ९५० युआन बराबरको नेपाली रुपैयाँ १६ लाख ६ हजार ८०० रहेको छ। उक्त घटनामा संलग्न ५१ वर्षीय सिरेनु ओजी र ४३ वर्षीय चिनियाँ नागरिक वुजियान्दुओजीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कोदारीमा राखेर आवश्यक अनुसन्धान भइरहेको छ। 

स्कारपियो गाडीका चालक सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– ५ बस्ने २८ वर्षीय मोहन भण्डारीलाई भने आवश्यक अनुसन्धानपछि छाडिएको प्रहरीले जनाएको छ।