नेपाल–भारत सहमतिले भैरहवा विमानस्थलमा उडान विस्तारको आशा बढायो


रूपन्देही – नेपाल र भारतबिच काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडान विस्तारको सम्भावना बढेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएको यो सहमतिले भैरहवा विमानस्थलबाट अन्तरराष्ट्रिय उडान सञ्चालनमा देखिएको हवाई मार्गसम्बन्धी अवरोध हटाउन सहयोग पुग्ने अपेक्षा गरिएको हो।

सहमतिअनुसार काठमाडौं–भैरहवा–लखनउ (बी–३४५) हवाई मार्गलाई एकतर्फीबाट दुईतर्फी बनाउने विषय अघि बढाइएको छ। यसअघि उक्त मार्ग प्रयोग गरी भैरहवाबाट उडान तथा अवतरणमा व्यावहारिक कठिनाइ रहँदै आएको थियो। दुईतर्फी सञ्चालनको व्यवस्था कार्यान्वयनमा आएमा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रिय उडान सञ्चालन सहज हुने र विमान कम्पनीलाई थप विकल्प उपलब्ध हुने अपेक्षा गरिएको छ।

यद्यपि सहमतिलाई कार्यान्वयनमा लैजान प्राविधिक पक्ष, उडान सञ्चालनको प्रक्रिया तथा आवश्यक व्यवस्थापनबारे थप छलफल गर्नुपर्नेछ। त्यसैले सहमतिपछि तत्काल नियमित उडान सुरु भइसकेको अर्थमा बुझ्न नहुने सरोकारवालाको भनाइ छ। सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीका अध्यक्ष नेत्रप्रसाद आचार्यले हवाई मार्ग दुईतर्फी बनाउने सहमतिलाई भैरहवा र समग्र लुम्बिनी क्षेत्रको आर्थिक विकासका लागि सकारात्मक उपलब्धिका रूपमा लिनुपर्ने बताए।

उनका अनुसार अन्तरराष्ट्रिय उडान विस्तार हुँदा पर्यटन, उद्योग, व्यापार तथा होटल व्यवसायमा प्रत्यक्ष प्रभाव पर्नेछ। विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुनसके यस क्षेत्रको आर्थिक गतिविधि थप चलायमान बन्ने उनको अपेक्षा छ। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का पूर्वअध्यक्ष सागर अधिकारीले हवाई पहुँच विस्तारले लुम्बिनी आउने विदेशी पर्यटकको आवागमन सहज बनाउनसक्ने बताए। भारतका विभिन्न सहरबाट पर्यटकलाई भैरहवा हुँदै लुम्बिनी ल्याउन सकिने सम्भावना बढ्ने उनको भनाइ छ। उनले विमानस्थल सञ्चालनलाई प्रभावकारी बनाउन उडान सेवा, पर्यटकीय प्याकेज र यातायात व्यवस्थापनलाई पनि सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिए।

लुम्बिनी बौद्ध विश्वविद्यालयका प्राध्यापक सुरज घिमिरेले हवाई मार्ग विस्तारलाई लुम्बिनीको अन्तरराष्ट्रिय पर्यटनसँग जोडेर हेर्नुपर्ने बताए । बुद्धको जन्मस्थल लुम्बिनीलाई भारतका बोधगया, सारनाथ, कुशीनगर र श्रावस्तीजस्ता बौद्धस्थलसँग जोडेर धार्मिक तथा सांस्कृतिक पर्यटनको प्रवर्द्धन गर्न सकिने उनको भनाइ छ।

भैरहवा विमानस्थलबाट उडान विस्तार हुनसके नेपाल आउने पर्यटकलाई लुम्बिनीसहित कपिलवस्तुको तिलौराकोट, देवदह र रामग्रामजस्ता ऐतिहासिक तथा पुरातात्त्विक स्थलसम्म पुर्याउन सहज हुनेछ। यसबाट पर्यटन व्यवसायसँगै स्थानीय होटल, यातायात, कृषि तथा अन्य सेवा क्षेत्रमा रोजगारी र आम्दानीका अवसर सिर्जना हुने अपेक्षा गरिएको छ। गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माणसँगै लुम्बिनीलाई अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोड्ने अपेक्षा गरिएको थियो। तर, नियमित अन्तरराष्ट्रिय उडानको निरन्तरतामा देखिएको चुनौतीका कारण विमानस्थलले अपेक्षित गति लिन सकेको छैन। यस्तो अवस्थामा नेपाल–भारतबीच भएको पछिल्लो सहमतिलाई कार्यान्वयनमा लैजानसके भैरहवा विमानस्थलको उपयोगिता बढ्नुका साथै लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने देखिन्छ।