काठमाडौं – नशालु पदार्थ मिसाइएको खानेकुरा तथा पेय पदार्थ खुवाएर सर्वसाधारणलाई बेहोस बनाई शृङ्खलाबद्ध रूपमा लुटपाट गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरी टोलीले विभिन्न मितिमा भएका लुटपाटका घटनामा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा ५० वर्षीया संगीता तामाङ (कार्की), ३८ वर्षीय विरध्वज तामाङ, ४६ वर्षीय नवराज घिमिरे विक र ३२ वर्षीय प्रविन सुनुवार रहेका छन्। प्रहरीका अनुसार संगीता तामाङ र विरध्वज तामाङले विभिन्न व्यक्तिलाई फलफूलको जुस, दूध तथा अन्य खानेकुरामा नशालु पदार्थ मिसाएर खुवाई बेहोस बनाउने र उनीहरूसँग भएका नगद तथा सुनका गरगहना लुट्ने गरेको अनुसन्धानबाट खुलेको छ।
प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार उनीहरूले चार वटा छुट्टाछुट्टै घटनामा संलग्न भई लुटपाट गरेको आरोप छ। पहिलो घटनामा गत असोज २४ गते बनेपा नगरपालिका–६ मा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ निवासी ५४ वर्षीय गंगाबहादुर गुरुङलाई फ्रुटीमा नशालु पदार्थ मिसाएर खुवाई बेहोस बनाइएको थियो। त्यसपछि उनको साथबाट नगद चार हजार रुपैयाँ र चार वटा राडी लुटिएको थियो। बेहोस भएका गुरुङको शिर मेमोरियल अस्पताल बनेपाको सघन उपचार कक्षमा चार दिन उपचार गरिएको थियो।
त्यसैगरी, भदौ १० गते बनेपा नगरपालिका–४ मा बसोबास गर्दै आएका ७० वर्षीया हिरामाया जिम्बा र उनका ७४ वर्षीय श्रीमान् हस्तबहादुर जिम्बालाई आफ्नै घरमा दूधमा नशालु पदार्थ मिसाएर खुवाई बेहोस बनाइएको थियो। उनीहरूको साथबाट दुई वटा सुनका रिङ र एउटा सुनको तिलहरी लुटिएको प्रहरीले जनाएको छ। घटनामा घाइते हिरामायाको थप उपचार अल्का अस्पताल जावलाखेलमा सात दिनसम्म गरिएको थियो भने हस्तबहादुरको शिर मेमोरियल अस्पतालमा उपचार भएको थियो।
तेस्रो घटनामा असोज २८ गते बनेपा नगरपालिका–३ मा पनौती नगरपालिका–४ निवासी ५१ वर्षीय हेमबहादुर बस्नेतलाई लेमन जुसमा नशालु पदार्थ मिसाएर खुवाई बेहोस बनाइएको थियो। उनको साथबाट सुनको सिक्री, मोबाइल र सुनको औँठी लुटिएको थियो। साथै,चौथो घटनामा भदौ २३ गते नमोबुद्ध नगरपालिका–११ निवासी ६७ वर्षीया पञ्चमाया तामाङलाई घरमै खानेकुरामा नशालु पदार्थ मिसाएर खुवाई बेहोस बनाइएको र कानमा लगाएको करिब एक तोलाको सुनको रिङ लुटिएको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा लुटिएका सुनका गरगहना खरिद गर्ने व्यक्तिहरूको समेत संलग्नता खुलेपछि प्रहरीले विक र सुनुवारलाई पक्राउ गरेको हो। नवराजले भक्तपुरको मध्यपुर थिमि–४ स्थित जय शिवशक्ति सुनचाँदी ज्वेलर्सबाट र प्रविनले काभ्रेको धुलिखेल नगरपालिका–५ स्थित गणेश सुनचाँदी पसलबाट बिलबिना लुटिएका गरगहना खरिद गरेको खुलेको प्रहरीको भनाइ छ।
प्रहरीले संगीता तामाङको साथ तथा कोठाबाट तीन ग्राम सेतो धुलो पदार्थ, घटनामा प्रयोग भएको मोबाइल फोन, कपडा तथा अन्य सामग्री बरामद गरेको छ। त्यस्तै, नवराजको सुन पसलबाट स्वरूप परिवर्तन गरी ढिक्का बनाइएको सुनजस्तो देखिने धातु र प्रविनको पसलबाट ११.६८ ग्राम तौलको सुनजस्तो देखिने एक जोर रिङ बरामद गरिएको छ।
प्रहरीका अनुसार संगीता तामाङ यसअघि पनि चोरी तथा डाँकासम्बन्धी मुद्दामा संलग्न रहेको देखिएको छ। उनी विरुद्ध इलाका प्रहरी कार्यालय बनेपामा यसअघि दुई वटा चोरी तथा डाँकासम्बन्धी मुद्दा चलेको र सजायसमेत भएको प्रहरी जनाएको छ। विरध्वज तामाङविरुद्ध पनि अभद्र व्यवहार तथा चोरीसम्बन्धी मुद्दा दर्ता भएको छ।
त्यस्तै, विकविरुद्ध चोरीका सुनका गरगहना खरिद गरी स्वरूप परिवर्तन गरेको आरोपमा यसअघि पनि मुद्दा चलेको र ती मुद्दा विचाराधीन रहेको प्रहरीले जनाएको छ। उनीहरुमाथि आवश्यक अनुसन्धान पूरा गरी अभियोजनका लागि जिल्ला सरकारी वकिल कार्यालय काभ्रेपलान्चोकमा पेस गरिएको प्रहरीले जनाएको छ।




About Us
प्रतिक्रिया