काठमाडौं – भारतले पहिलोपटक भैरहवा हुँदै नेपाल प्रवेश गर्ने हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएको यो सहमतिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान विस्तार गर्ने नेपालको लामो प्रयासलाई नयाँ गति दिने अपेक्षा गरिएको छ। नेपाल र भारतबीच लामो समयदेखि विवाद तथा छलफलको विषय बन्दै आएको हवाई प्रवेश मार्गको समस्या समाधानतर्फ महत्त्वपूर्ण प्रगति भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भारतले हाल एकतर्फी रूपमा सञ्चालनमा रहेको काठमाडौं–भैरहवा–लखनउ ९बी३४५० हवाई मार्गलाई दुईतर्फी बनाउने सहमति जनाएको छ।
नेपाल र भारतका प्रधानमन्त्रीबीच भएको द्विपक्षीय वार्तापछि जारी संयुक्त वक्तव्यको बुँदा नम्बर ८ मा नागरिक उड्डयनसम्बन्धी विषयमा भइरहेको छलफललाई निरन्तरता दिँदै हवाई सम्पर्क विस्तार र द्विपक्षीय आर्थिक गतिविधि प्रवर्द्धन गर्ने सहमति उल्लेख गरिएको छ। संयुक्त वक्तव्यअनुसार हाल एकतर्फी सञ्चालनमा रहेको बी३४५ काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई अब दुवैतर्फ सञ्चालन गर्न दुवै देश सहमत भएका छन्। यससम्बन्धी आवश्यक प्रक्रिया र कार्यविधि टुंगो लगाउन प्राविधिक परामर्श गरिनेछ। साथै, दुवै पक्षबाट प्रस्तावित अन्य नागरिक उड्डयनसम्बन्धी विषयलाई पनि प्राविधिक छलफलमार्फत टुंग्याइने उल्लेख छ।
भैरहवा विमानस्थल सञ्चालनका लागि महत्त्वपूर्ण उपलब्धि
भारतको पछिल्लो सहमतिलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको व्यावसायिक सञ्चालन र अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारका दृष्टिले महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भए पनि पर्याप्त अन्तर्राष्ट्रिय उडान आकर्षित गर्न नसक्नुका विभिन्न कारणमध्ये भारतीय आकाश हुँदै नेपाल प्रवेश गर्ने सहज हवाई मार्गको अभाव पनि प्रमुख समस्या रहँदै आएको थियो।
हाल बी३४५ मार्गबाट अन्तर्राष्ट्रिय विमानहरू नेपालबाट बाहिरिन सक्ने भए पनि सोही मार्ग प्रयोग गरेर नेपाल प्रवेश गर्न पाउँदैनन्। यसले पश्चिमतर्फबाट भैरहवा आउने विमानलाई घुमाउरो हवाई मार्ग प्रयोग गर्नुपर्ने अवस्था सिर्जना गरेको छ। फलस्वरूप उडान दूरी, समय र इन्धन खर्चसमेत बढ्ने गरेको छ। अब यही मार्गलाई दुईतर्फी बनाउने सहमतिले पश्चिमतर्फबाट आउने अन्तर्राष्ट्रिय विमानलाई भैरहवा हुँदै नेपाल प्रवेश गर्न सहज बनाउने अपेक्षा गरिएको छ। यसबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई आकर्षित गर्न र विमानस्थलको उपयोगिता बढाउन सहयोग पुग्न सक्छ।
सन् २००९ देखि उठ्दै आएको विषय
नेपालले सन् २००९ देखि नै भारतीय आकाश हुँदै नेपाल प्रवेश गर्ने थप अन्तर्राष्ट्रिय हवाई मार्ग उपलब्ध गराउन भारतसँग आग्रह गर्दै आएको छ। विशेषगरी भैरहवा, नेपालगन्ज, महेन्द्रनगर र जनकपुर क्षेत्रबाट नेपाल प्रवेश गर्ने हवाई मार्गका लागि नेपालले निरन्तर कूटनीतिक पहल गर्दै आएको थियो।
सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा पनि भैरहवा, नेपालगन्ज र जनकपुर हुँदै हवाई प्रवेश मार्ग उपलब्ध गराउने विषयले प्राथमिकता पाएको थियो। त्यसबेला दुवै देशका अधिकारीलाई यससम्बन्धी विषय छ महिनाभित्र टुंग्याउन निर्देशनसमेत दिइएको थियो। तर, विभिन्न प्राविधिक तथा सुरक्षा चासोका कारण विषय लामो समयसम्म निष्कर्षमा पुग्न सकेको थिएन।
सन् २०१६ मा महेन्द्रनगर हुँदै सञ्चालन हुने एल६२६ हवाई मार्गलाई दुईतर्फी बनाउने विषयमा पनि सहमति भएको थियो। तर, त्यसको कार्यान्वयन हुन सकेको थिएन। यसअघि भएका विभिन्न उच्चस्तरीय भ्रमण र द्विपक्षीय वार्तामा पनि हवाई मार्गको विषय उठ्दै आए पनि ठोस प्रगति हुन सकेको थिएन। यसपटक भने बी३४५ मार्गलाई दुईतर्फी बनाउने विषय संयुक्त वक्तव्यमै समेटिएपछि नेपालको हवाई कनेक्टिभिटी विस्तारमा महत्त्वपूर्ण कूटनीतिक उपलब्धि हासिल भएको छ।
प्राविधिक प्रक्रिया अझै बाँकी
यद्यपि, दुईतर्फी सञ्चालनसम्बन्धी सहमति भएसँगै तत्कालै उक्त मार्गबाट दुवैतर्फ उडान सुरु हुने भने होइन। संयुक्त वक्तव्यले यसका लागि प्राविधिक परामर्शमार्फत सञ्चालनको तौरतरिका र आवश्यक प्रक्रिया अन्तिम रूप दिने स्पष्ट पारेको छ। यसअघि हवाई मार्ग विस्तारका विषयमा भारतीय पक्षले सुरक्षा संवेदनशीलता, हवाई क्षेत्र व्यवस्थापन र प्राविधिक मापदण्डलाई महत्त्व दिँदै आएको थियो। त्यसैले अब हुने प्राविधिक छलफल र त्यसबाट तय हुने सञ्चालन प्रक्रियाले सहमतिको वास्तविक कार्यान्वयन निर्धारण गर्नेछ।
नेपालका लागि भैरहवा विमानस्थलमा मात्रै नभई समग्र अन्तर्राष्ट्रिय हवाई सम्पर्क, पर्यटन प्रवर्द्धन र नागरिक उड्डयन क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिका दृष्टिले पनि यो सहमति अर्थपूर्ण मानिएको छ। तर, विमानस्थलको पूर्वाधार निर्माणसँगै त्यसको व्यावसायिक उपयोग सुनिश्चित गर्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको आकर्षण, यात्रुको उपलब्धता र नियमित उडान सञ्चालन पनि उत्तिकै महत्त्वपूर्ण हुनेछन्।





About Us
प्रतिक्रिया