काठमाडौं – जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विषयमा सहमति जुट्न नसक्दा टर्कीमा सम्पन्न संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप–३१) साझा निष्कर्षविहीन बनेको छ। सम्मेलनको अन्तिम दस्तावेजमा कोइला, तेल र ग्यासजस्ता जीवाश्म इन्धनको उल्लेख गर्ने कि नगर्ने भन्ने विवादले वार्ता टुङ्गोमा पुग्न सकेन।
वार्षिक जलवायु सम्मेलनले जलवायु परिवर्तनविरुद्ध मुलुकहरूले चाल्नुपर्ने कदम समेटिएको ‘कभर डिसिजन’ नामक साझा दस्तावेज जारी गर्ने प्रयास गरेको थियो। तर, टर्कीले प्रस्तुत गरेको मस्यौदामा जीवाश्म इन्धनसम्बन्धी स्पष्ट प्रतिबद्धता नसमेटिएपछि धेरै देशले त्यसप्रति असन्तुष्टि जनाए।
आयरल्यान्डका जलवायु, ऊर्जा तथा वातावरणमन्त्री डाराग ओ’ब्रायनले युरोपेली सङ्घ (इयु) का २७ सदस्य राष्ट्रका तर्फबाट बोल्दै प्रस्तावित दस्तावेजले जलवायु परिवर्तन सामना गर्न आवश्यक कार्य र महत्वाकांक्षा समेट्न नसकेको बताए । जीवाश्म इन्धनको उल्लेखबिनाको जलवायुसम्बन्धी निर्णय स्वीकार गर्न नसकिने उनको भनाइ थियो।
पानामाकी प्रमुख जलवायु वार्ताकार एना एगुइलारले विज्ञान र वास्तविकताले माग गरेको कदम चाल्नुको सट्टा पुराना प्रतिबद्धता दोहोर्याउने काम भएको टिप्पणी गरिन्। कार्बन कब्जा तथा भण्डारण प्रविधिमा अत्यधिक निर्भर रहेको र यसअघि भएका सहमतिका भाषासमेत कमजोर बनाइएको उनको भनाइ थियो। उनले यसलाई जलवायु न्यायको विषयसमेत बताइन्।
मार्सल टापुकी जलवायु दूत तथा प्रमुख वार्ताकार क्याथी जेतनिल–किजिनरले विश्वले उत्सर्जन घटाउन, जनताको सुरक्षा गर्न र जलवायु वित्त उपलब्ध गराउन तत्काल कदम चाल्ने अपेक्षा गरेको बताइन्। जीवाश्म इन्धनको विस्तारलाई प्रोत्साहन गर्ने र गलत समाधान प्रस्तुत गर्ने प्रस्ताव स्वीकार गर्न नसकिने उनको भनाइ थियो।
संयुक्त अधिराज्यका प्रमुख जलवायु वार्ताकार केट ह्युजेसले प्रस्तावित दस्तावेजले जलवायु विज्ञान र कार्यान्वयनको गतिलाई पछाडि धकेल्ने बताए। जलवायु कार्यमा सामूहिक महत्वाकाङ्क्षा बढाउनुपर्ने बेला प्रस्तावले त्यसलाई कमजोर बनाएको उनको टिप्पणी थियो।
तर, पलाउका वातावरणमन्त्री स्टिभन भिक्टरले प्रस्तावित दस्तावेजमा केही कमजोरी भए पनि स्वच्छ विद्युतीकरण, समुद्री संरक्षण र जलवायु वित्तजस्ता सकारात्मक विषय समेटिएकाले त्यसलाई समर्थन गरेको बताए। कार्बन कब्जासम्बन्धी प्रावधानमा असहमति भए पनि अन्य विषयलाई बेवास्ता गर्न नहुने उनको भनाइ थियो। साझा कभर डिसिजन पारित नभए पनि अन्य कार्ययोजना स्वीकृत भएकाले सम्मेलनलाई पूर्ण असफलता भन्न नमिल्ने उनले उल्लेख गरे।
कोप–३१ वार्ताका अध्यक्ष तथा अस्ट्रेलियाका जलवायु तथा ऊर्जा मन्त्री क्रिस बोवेनले साझा दस्तावेजमा सहमति हुन नसकेकोप्रति निराशा व्यक्त गरे। केही मुलुकका जीवाश्म इन्धनसम्बन्धी अडान निकै कडा रहेकाले सहमति जुटाउन कठिन भएको उनले बताए। यद्यपि, वास्तविक विश्वमा जीवाश्म इन्धनबाट स्वच्छ ऊर्जातर्फको परिवर्तन अपरिहार्य रहेको र त्यो प्रक्रिया अघि बढिरहेको उनको भनाइ थियो।





About Us
प्रतिक्रिया