१० महिनामा ९६ हजारले घट्यो सुनको मूल्य


काठमाडौं – नेपाली बजारमा सुनको मूल्य पछिल्लो १० महिना यता उच्च बिन्दुबाट झन्डै एक लाख रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार २०८२ माघ १५ गते प्रतितोला ३ लाख ३९ हजार ३०० सय रुपैयाँ पुगेको सुनको मूल्य निरन्तर ओरालो लाग्दा मंसिर ६ गते सुन प्रतितोला २ लाख ४२ हजार ६ सय रुपैँयामा झरेको छ।

गत आइतबारदेखि यो आइतबारको एक हप्ताको अवधिमा सुनको मूल्य प्रतितोला २९ हजार ६०० रुपैयाँले घटेको हो। महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला २ लाख ७० हजार २०० सय रुपैयाँमा कारोबार भएको सुन आज मंसिर ६ गते २ लाख ४२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ। एक हप्तामा लगातार घटेको सुनको मूल्य गत शुक्रबार एकैदिन १२ हजार २०० सय रुपैयाँको उच्च बिन्दुबाट घटेको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको तीव्र गिरावटको प्रत्यक्ष असर नेपाली बजारमा देखिएको हो। अमेरिकी डलर बलियो हुनु, अपेक्षाभन्दा बढी मुद्रास्फीति देखिनु र अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर थप बढाउन सक्ने सम्भावनाले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा दबाब सिर्जना गरेको छ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार गत जनवरी २९ मा विश्व बजारमा सुनको मूल्य प्रतिऔँस ५ हजार ३२७.६५ अमेरिकी डलरसम्म पुगेको थियो। तर, पछिल्लो समय घट्दै आइतबार सुन प्रतिऔँस ३ हजार ५२४ डलरमा झरेको छ। सुनमा लगानी गर्दा ब्याज प्राप्त नहुने भएकाले ब्याजदर बढ्ने अपेक्षाले लगानीकर्तालाई सुनभन्दा डलर र सरकारी ऋणपत्रतर्फ आकर्षित गरेका कारण अहिले अन्तर्राष्ट्रय बजारमा निरन्तर सुनको मूल्यमा गिरावट आएको हो।