दुई लाख प्रयोगकर्ताले एकैपटक टिकट खोज्दा एनपीएल फाइनलको टिकट केही मिनेटमै सोल्डआउट


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलको टिकट बिक्री खुला भएको केही मिनेटमै सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार टिकट बिक्री खुला भएसँगै करिब दुई लाख प्रयोगकर्ताले एकैपटक टिकट खरिदका लागि प्रयास गरेका थिए।

क्यानले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै एकैपटक ठूलो संख्यामा प्रयोगकर्ताले टिकट खरिद गर्न खोजेपछि क्रिकेट मैदानको क्षमताअनुसार टिकट उपलब्धता सीमित भएकाले बिक्री खुला भएको केही मिनेटमै सबै टिकट सोल्डआउट भएको जानकारी दिएको हो।

एनपीएलप्रति नेपाली क्रिकेटप्रेमीले देखाएको अपार माया, साथ र उत्साहप्रति क्यानले आभार व्यक्त गरेको छ। साथै, टिकट खरिद गर्न नपाएका समर्थकप्रति असुविधाका लागि क्षमायाचना समेत गरेको छ। टिकट प्राप्त गर्न नसकेका समर्थकलाई अनलाइन एवं आधिकारिक प्लेटफर्ममार्फत सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग हेरेर प्रतियोगितालाई साथ र समर्थन गर्न क्यानले आग्रह गरेको छ।

यसैगरी, टिकेट पार्टनर इसेवा प्रमुख कार्यकारी अधिकृत (सीईओ) निरज शर्माले सबैले एकैपटक टिकट काट्ने प्रयास गर्दा समस्या आएको बताए। ‘यो कुनै प्राविधिक समस्या हैन, धेरै मानिसले एकैपटक प्रयास गर्दा भएको हो,’ उनले भने।

यस वर्षको नेपाल प्रिमियर लिगको फाइनल खेल मंसिर ५ गते हुँदैछ।