सर्वोच्च अदालतद्वारा महेश श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट दर्ता गर्न आदेश


काठमाडौं – सर्वोच्च अदालतले महेश श्रेष्ठको थुनासम्बन्धी बन्दीप्रत्यक्षीकरण रिट निवेदन दर्ता गरी इजलासमा पेस गर्न आदेश दिएको छ। न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले सर्वोच्च अदालतका रजिस्ट्रारबाट रिट निवेदन दर्ता गर्न अस्वीकार गर्दै गरिएको दरपीठ आदेश बदर गरेको हो।

महेश श्रेष्ठकी पत्नी यशोदा श्रेष्ठले आफ्ना पतिलाई सरकारले गैरकानुनी रूपमा थुनामा राखेको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन पेस गरेकी थिइन्। तर, सम्बन्धित मुद्दा हेर्ने अदालतबाट पक्राउको अनुमोदन भइसकेको र म्यादसमेत थप भएको आधार देखाउँदै अदालत प्रशासनले निवेदन दर्ता गर्न अस्वीकार गरेको थियो।

अदालत प्रशासनको उक्त निर्णयविरुद्ध परेको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश निरौलाको इजलासले दरपीठ आदेश बदर गरेको हो।

आदेशमा भनिएको छ,’रिट निवेदनमा उठाइएको विषयवस्तु हेर्दा मिसिल कागजात हेरी इजलासबाटै निरूपण हुन उपयुक्त देखिएकाले बन्दीप्रत्यक्षीकरणको दर्ता गर्न ल्याएको रिट निवेदन दर्ता गर्न इन्कार गरी दरपीठ गरेको आदेश बेरितको देखिँदा बदर गरिदिएको छ।’

राज्यका महत्वपूर्ण निकायका पदाधिकारीहरूको नाम दुरुपयोग गरी आपराधिक लाभका गतिविधि गरेको आरोपमा झापाका इनम सापकोटा पक्राउ परेका थिए। उनीसँगको कारोबार देखिएको आरोपमा प्रहरीले महेश श्रेष्ठलाई समेत पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो।