सेबोन र टोरोन्टो सेन्टरका प्रतिनिधिबीच क्षमता अभिवृद्धि सम्बन्धमा अन्तर्किया कार्यक्रम सम्पन्न


काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) र टोरोन्टो सेन्टरका प्रतिनिधिबीच क्षमता अभिवृद्धि सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। वित्तीय क्षेत्रका नियामक निकायको क्षमता अभिबृद्धि गरी वित्तीय क्षेत्रको प्रभावकारी नियमन र सुपरिवेक्षणमार्फत वित्तीय स्थायित्व, वित्तीय संकटको पूर्वतयारी तथा सुदृढ वित्तीय प्रणालीको प्रबद्र्धन गर्ने उद्देश्यसहित स्थापित अन्तर्राष्ट्रिय संस्था टोरोन्टो सेन्टरबाट नेपालको वित्तीय क्षेत्रका नियामक निकायहरूको नियमन तथा सुपरिवेक्षण प्रणालीको वर्तमान अवस्था मूल्याङ्कन, नियामकीय तथा सुपरिवेक्षकीय कार्यसँग सम्बन्धित विद्यमान चुनौती र आवश्यकताहरूको विश्लेषण गरी आवश्यक कार्ययोजना पहिचान गर्न आएको प्रतिनिधि मण्डल र बोर्डका उच्च पदस्थ कर्मचारीबीच कात्तिक ३० र मंसिर १ गते बोर्डमा छलफल तथा अन्तर्क्रिया सम्पन्न भएको हो।

उक्त कार्यक्रममा नेपालको धितोपत्र बजारको कानूनी तथा नियामकीय व्यवस्था, बजारको समग्र अवस्था, संस्थागत स्रोतसाधन, बजार सहभागी, बजारमा उपलब्ध वित्तीय उत्पादन तथा उपकरणहरू, बजार आचरण, लगानीकर्ताका गुनासा तथा उजुरी व्यवस्थापन, वित्तीय सेवामा उपभोक्ताको पहुँच तथा वित्तीय साक्षरता अभिवृद्धि, विद्यमान सीमितता तथा चुनौतीहरू लगायतका विषयमा बोर्डका कार्यकारी निर्देशक लगायत उच्च पदस्थ कर्मचारीहरुबाट प्रस्तुतीकरण भएको थियो। धितोपत्र बजारको प्रभावकारी नियमन, बजारको विकास विस्तार, वित्तीय प्रणालीमा जलवायु परिवर्तन तथा वातावरणीय जोखिम (ग्रीन फाइनान्सिङ) बाट पर्न सक्ने प्रभावका लागि भएका पहलहरू, बजार सहभागीहरूको गतिविधिको उपयुक्त निगरानी तथा सुपरिवेक्षणका लागि आवश्यक सूचना प्रविधि पूर्वाधार लगायतका संस्थागत क्षमताहरूबारे समेत छलफलमार्फत वर्तमान अवस्थाको मूल्याङ्कन गरिएको थियो।

उक्त कार्यक्रमबाट नेपालको धितोपत्र बजारको नियामकीय तथा सुपरिवेक्षकीय अवस्थाको मूल्याङ्कन, संस्थागत क्षमता अभिवृद्धिका आवश्यकता पहिचान तथा आगामी दिनमा जोखिममा आधारित सुपरिवेक्षण लगायतका नियामकीय अभ्यासलाई अन्तर्राष्ट्रिय मापदण्ड तथा असल अभ्यासअनुरूप थप प्रभावकारी बनाउन आवश्यक कार्यदिशा तय गर्न सहयोग पुग्ने बोर्डले अपेक्षा गरेको छ।