मंसिर मसान्तभित्र बक्यौता बुझाए दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहा हुने


काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक कम्पनीलाई विभिन्न शुल्क, दस्तुर तथा करमा लागेको जरिवाना र ब्याज मिनाहाको सुविधा उपयोग गर्न आग्रह गरेको छ। प्राधिकरणका अनुसार आर्थिक ऐन, २०८३ को दफा ४९ मा भएको व्यवस्थाबमोजिम आगामी मंसिर मसान्तभित्र बक्यौता शुल्क, दस्तुर वा कर तथा त्यसको एक प्रतिशत थप रकम दाखिला गरेमा लाग्ने जरिवाना, ब्याज र शुल्क मिनाहा हुनेछ।

शुल्क, दस्तुर वा कर दाखिला नगरेका, कम दाखिला गरेका वा आवश्यक विवरण नबुझाएका दूरसञ्चार सेवा प्रदायक कम्पनीले उक्त सुविधा प्राप्त गर्न सक्नेछन ।त्यसैगरी, सम्बन्धित कार्यालयबाट कर, शुल्क वा दस्तुर निर्धारण भई बक्यौता कायम भएका कम्पनीले पनि यो सुविधा उपयोग गर्न सक्नेछन्। अदालत वा अन्य न्यायिक निकायमा मुद्दा विचाराधीन रहेका सेवा प्रदायकले मुद्दा फिर्ता लिई निर्धारण भएको रकम र त्यसको एक प्रतिशत थप रकम बुझाएमा जरिवाना तथा ब्याज मिनाहा हुने प्राधिकरणले जनाएको छ।

प्राधिकरणले अनुमतिपत्र प्राप्त सम्पूर्ण दूरसञ्चार सेवा प्रदायकलाई मंसिर मसान्तभित्र आवश्यक रकम दाखिला गरी आर्थिक ऐनले प्रदान गरेको सुविधाको लाभ लिन आग्रह गरेको छ। यस व्यवस्थाबाट बक्यौता असुली सहज हुनुका साथै दूरसञ्चार सेवा प्रदायकलाई आर्थिक दायित्व व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।