काठमाडौं – राजस्व चुहावटसम्बन्धी मुद्दामा ५३ करोड ८१ लाख ८३ हजार ८१ रुपैयाँ जरिवाना र दुई वर्ष कैद सजाय सुनाइएका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा गुलसन श्रीवास्तव रहेका छन्। राजस्व अनुसन्धान विभाग, हरिहरभवन, ललितपुरका निर्देशक अनुसन्धान अधिकृत प्रेमप्रसाद आचार्यसमेतको प्रतिवेदन तथा जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको राजस्व चुहावटसम्बन्धी मुद्दामा श्रीवास्तवलाई उच्च अदालत पाटनले दोषी ठहर गरेको थियो।
श्रीवास्तव विभिन्न पाँच कम्पनी-संग्रिला ट्रेड एण्ड सप्लायर्स, प्रिन्स इन्टरनेशनल, मयंक इन्टरप्राइजेज, शुभलक्ष्मी इन्टरनेशनल र न्यू महादेव इन्टरनेशनलका प्रोप्राइटर हुन्। उक्त कम्पनीहरुमार्फत झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल जारी गरी कारोबार गरेको अभियोगमा चलेको मुद्दामा उच्च अदालत पाटनले २०८१ वैशाख २४ गते उनलाई ५३ करोड ८१ लाख ८३ हजार ८१ रुपैयाँ जरिवाना र दुई वर्ष कैद सजाय सुनाएको थियो।
अदालतको फैसलापछि सजाय भुक्तान नगरी फरार रहेका श्रीवास्तवलाई प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा २०८३ मंसिर २ गते वीरगञ्ज महानगरपालिका–१६, नगुवाबाट पक्राउ गरेको हो। श्रीवास्तवलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।





About Us
प्रतिक्रिया