विमानस्थलबाट १ किलो ८०३ ग्राम सुनजस्तो देखिने पदार्थसहित चिनियाँ नागरिक पक्राउ


काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो ८०३ ग्रामभन्दा बढी सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा चीनको जिलिन स्थायी ठेगाना भएका ५८ वर्षीय जियानहुआ वाङ  रहेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार मंसिर २ गते बिहान नेपाल वायुसेवा निगमको उडान नम्बर आरए ४१० मार्फत हङकङबाट काठमाडौं आएका वाङलाई शंकास्पद गतिविधिका आधारमा जाँच गरिएको थियो।

जाँचका क्रममा उनले मलद्वारभित्र प्लास्टिकले बेरेर लुकाइछिपाई ल्याएको सुनजस्तो देखिने पहेँलो गोलाकार अर्धठोस पदार्थ चार थान प्लास्टिकसहित बरामद गरिएको प्रहरीले जनाएको छ। उक्त पदार्थको कुल तौल १ किलो ८०३ ग्राम ७७ मिलिग्राम रहेको छ।

भन्सार क्षेत्र पार गरी बाहिर निस्कने क्रममा उनलाई उक्त पदार्थसहित नियन्त्रणमा लिइएको हो। वाङलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा पठाइएको छ।