काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गतका क्रिकेट खेलमा अनलाइनमार्फत सट्टाबाजी गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको राजस्थान राज्य, श्रीगंगानगर जिल्ला, श्रीगंगानगर शहर स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१७, ठमेल बस्दै आएका ३५ वर्षीय रोहित पथरिया रहेका छन्।
काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भइरहेको एनपीएलका खेलहरूमा केही व्यक्तिले अनलाइनमार्फत बेटिङ गर्ने तथा गराउने गरेको सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
प्रहरीले उनको साथबाट दुई थान मोबाइल फोन बरामद गरी जाँच गर्दा ‘अलप्यानलएक्सचेन्ज डट ग्लोबल’ नामक अनलाइन बेटिङ साइटमा लगइन गरेर एनपीएलका क्रिकेट खेलमा पटक–पटक गरी कुल ८ लाख ७५ हजार ४० रुपैयाँ बराबरको रकम सट्टाबाजीमार्फत कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ।
उनलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ अन्तर्गत दफा १२५ (जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने) सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।





About Us
प्रतिक्रिया