वडा सदस्यको हस्ताक्षर किर्ते गरी गाउँसभा गर्ने गाउँपालिका अध्यक्ष पक्राउ


काठमाडौं – सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिहासन राय सरकारी कागज किर्ते गरेको आरोपमा पक्राउ परेका छन्। सर्लाहीको बसबरिया गाउँपालिका–१ स्थित आफ्नै घरबाट उनी पक्राउ परेका हुन्। 

आर्थिक वर्ष २०८०\०८१ को नीति तथा कार्यक्रम पेस गर्न आयोजित गाउँसभामा अनुपस्थित रहेकी एक वडा सदस्यको हस्ताक्षर किर्ते गरी गाउँसभाबाट नीति तथा कार्यक्रम पारित गरिएको उजुरी जिल्ला प्रहरी कार्यालय सर्लाहीमा परेको थियो ।उक्त उजुरीका आधारमा सरकारी कागज किर्तेसम्बन्धी कसुरमा मुद्दा दर्ता भई अनुसन्धान भइरहेको थियो। 

सर्लाही जिल्ला अदालतबाट मिति २०८३।०६।१६ गते पक्राउ अनुमति प्राप्त भएपछि ५५ वर्षीय गाउँपालिका अध्यक्ष रायलाई आफ्नै घरबाट पक्राउ गरिएको हो। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।