काठमाडौं – प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसीले वित्तीय अपराधको प्रभावकारी अनुसन्धानका लागि नेपाल प्रहरीको एकल प्रयास मात्र पर्याप्त नहुने भन्दै सम्बन्धित सरकारी तथा निजी निकायबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन्। नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको ७१औँ स्थापना दिवसका अवसरमा मंगलबार आयोजित ‘वित्तीय अपराध अनुसन्धान: प्रमाण संकलनदेखि फैसलासम्म’ विषयक एकदिवसीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै महानिरीक्षक केसीले यस्तो बताएका हुन्।
उनले नेपाल राष्ट्र बैंक, वित्तीय जानकारी इकाइ, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, बैंक तथा वित्तीय संस्था, दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकलगायत निकायबीच सूचना आदानप्रदान, प्रमाणको शीघ्र उपलब्धता, प्राविधिक सहयोग तथा अनुसन्धान र अभियोजनबीचको समन्वयलाई संस्थागत गर्नुपर्नेमा जोड दिए । प्रत्येक निकायको कानुनी अधिकार क्षेत्र र जिम्मेवारीको सम्मान गर्दै सहकार्य गर्नुपर्ने उल्लेख गर्दै उनले सीमापार वित्तीय कारोबार तथा अपराध सञ्जालको अनुसन्धानमा अन्तर्राष्ट्रिय सहकार्य र पारस्परिक कानुनी सहायतालाई थप प्रभावकारी बनाउनुपर्ने बताए ।
केसीले पछिल्लो समय बैंकिङ्ग कसुर, वित्तीय ठगी, सहकारी तथा लगानीसम्बन्धी अनियमितता, अनलाइन आर्थिक अपराध, सम्पत्ति शुद्धीकरण र अवैध वित्तीय कारोबारका घटना जटिल बन्दै गएको बताए। प्रविधिको विकाससँगै अपराधको स्वरूप र अपराधीको कार्यशैली परिवर्तन भइरहेको उल्लेख गर्दै उनले परम्परागत अनुसन्धान पद्धतिलाई आधुनिक प्रविधिमा आधारित प्रणालीमा रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याए।
वित्तीय अपराध नियन्त्रणका लागि नवीनतम प्रविधिको प्रयोग, डिजिटल फोरेन्सिक क्षमताको विकास, विशेषज्ञ जनशक्ति उत्पादन तथा आवश्यक स्रोतसाधनको व्यवस्थापनमा जोड दिँदै उनले अनुसन्धानलाई निष्पक्ष, पारदर्शी, व्यावसायिक, प्रमाणमुखी र परिणाममुखी बनाउन प्रहरी कर्मचारीलाई निर्देशन दिए।
कार्यक्रमका अवसरमा महानिरीक्षक केसीले अपराध अनुसन्धान विभागद्वारा प्रकाशित ‘नेपाल प्रहरीले अनुसन्धान गरेका चर्चित घटनाहरूको सङ्ग्रह भाग–३’ पुस्तक विमोचन गरे। पुस्तकले विगतका अनुसन्धान अनुभव, चुनौती, सिकाइ र सफलतालाई संस्थागत ज्ञानका रूपमा अभिलेखीकरण गर्ने विश्वास व्यक्त गर्दै उनले यसले नयाँ पुस्ताका अनुसन्धानकर्तालाई मार्गदर्शन गर्नुका साथै अनुसन्धान पद्धतिमा सुधार ल्याउन सहयोग पुग्ने बताए। उनले अपराध अनुसन्धान विभागले नेपाल प्रहरीको अनुसन्धान क्षमता विकास, जटिल तथा संवेदनशील अपराधको अनुसन्धानमा मार्गनिर्देशन, अनुसन्धान पद्धतिको संस्थागत सुदृढीकरण र प्रहरी जनशक्तिको व्यावसायिक दक्षता अभिवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे।
कार्यशालामा महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता ज्ञानप्रसाद भुषालले वित्तीय अपराध अनुसन्धानमा अभियोजन तथा फैसलाका पक्ष, नेपाल प्रहरी अपराध अनुसन्धान विभागका प्रहरी उपरीक्षक मोहनकुमार थापाले वित्तीय अपराधको अवस्था, प्रकृति र प्रवृत्ति, साइबर ब्युरोका प्रहरी उपरीक्षक दीपकराज अवस्थीले डिजिटल प्रमाण संकलन तथा केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले वित्तीय अपराध अनुसन्धानमा सम्पत्तिको खोजी र चुनौतीका विषयमा प्रस्तुतीकरण गरेका थिए। प्रस्तुतीकरणपछि सहभागीहरूबीच वित्तीय अपराध अनुसन्धानका चुनौती, प्रमाण संकलन, अभियोजन प्रक्रिया र सम्बन्धित निकायबीचको समन्वयका विषयमा विस्तृत छलफल भएको थियो।





About Us
प्रतिक्रिया