करदाताको संख्या ८८ लाख नाघ्यो, राजस्व संकलनमा १३.३ प्रतिशतको वृद्धि


काठमाडौं – नेपालमा करको दायरा विस्तार हुँदै गएको छ। व्यावसायिक तथा व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिने करदाताको संख्या ८८ लाखभन्दा बढी पुगेको छ। यसले मुलुकका आर्थिक गतिविधि क्रमशः औपचारिक अर्थतन्त्रको दायरामा प्रवेश गरिरहेको देखाएको छ। आन्तरिक कर कार्यालयका उप महानिर्देशक जनकराज शर्माले करदाताको संख्या विस्तारसँगै राजस्व संकलनमा समेत सुधार हुँदै गएको बताएका छन्।

उनका अनुसार नेपाल सरकारको कुल राजस्व संकलनमा आन्तरिक राजस्व विभागको योगदान करिब ४५ प्रतिशत रहेको छ। विभागले गत आर्थिक वर्षमा करिब ६२२ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो। चालु आर्थिक वर्षमा ७०० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म १७७ अर्ब ४४ करोड रुपैयाँ राजस्व संकलन भएको शर्माले जानकारी दिए। उक्त संकलन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.३ प्रतिशतले बढी हो भने निर्धारित लक्ष्यको तुलनामा ९ प्रतिशतले वृद्धि भएको उनले बताए।

कर प्रणालीको समसामयिक सुधार, सक्षम कर प्रशासन र स्वैच्छिक कर सहभागिता अभिवृद्धिमार्फत राजस्व परिचालन बढाउन विभागले चालु आर्थिक वर्षमा २८ बुँदे कर सुधार कार्ययोजना तयार गरी कार्यान्वयनमा ल्याएको पनि उनले जानकारी दिए। सूचना प्रविधिको प्रयोगमा आन्तरिक राजस्व विभाग सरकारी निकायमध्ये अग्रणी स्थानमा रहेको उनको भनाइ छ। हाल ५५ प्रतिशतभन्दा बढी करदाताले घर वा कार्यालयबाटै अनलाइन माध्यमबाट कर विवरण दाखिला गर्ने गरेका छन्। ईजीआरएस, क्यूआर कोड, डिजिटल वालेट तथा बैंकिङ प्रणालीमार्फत कर भुक्तानी गर्ने व्यवस्था पनि कार्यान्वयनमा आइसकेको उनले बताए।

कर प्रशासनलाई थप प्रविधिमैत्री बनाउन कर सूचना प्रविधि प्रणालीको पूर्ण परिमार्जन गर्ने तयारी भइरहेको शर्माले उल्लेख गरे। यसका लागि विभागले आफ्नै अनुभवसँगै अन्तर्राष्ट्रिय असल अभ्यासको समेत अध्ययन गरिरहेको छ। त्यसैगरी, व्यावसायिक कारोबारलाई करको दायरामा ल्याउने र बिल लिने–दिने प्रवृत्तिलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरिएको करदाता प्रोत्साहन कार्यक्रमले सकारात्मक परिणाम दिएको उनले बताए। उक्त कार्यक्रमबाट बिल लिने प्रवृत्तिमा सुधार आउनुका साथै राजस्व संकलनमा समेत सकारात्मक प्रभाव परेको उनको भनाइ छ।