काठमाडौं – गौतम बुद्ध, महात्मा गान्धी र नेल्सन मण्डेलाको शान्ति, अहिंसा र मानवताको दर्शनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘गान्धी–मण्डेला फाउन्डेसन (जीएमएफ)’ को नेपाल च्याप्टर औपचारिक रूपमा प्रारम्भ गरिएको छ।
गौतम बुद्धको पवित्र जन्मभूमि नेपालबाट शान्ति, करुणा, सहिष्णुता र मानवताको विश्वव्यापी सन्देशलाई थप सशक्त बनाउने लक्ष्यसहित नेपाल च्याप्टर सुरु गरिएको फाउन्डेसनले जनाएको छ। फाउन्डेसनको नेपाल च्याप्टरका सचिव एवं नेपाल प्रतिनिधि टायम कट्टेलद्वारा जारी प्रेस विज्ञप्तिमा यो पहल केवल एउटा संस्थागत संरचनाको स्थापना मात्र नभई तीन महान् व्यक्तित्वहरूको दर्शनलाई नेपाल र अन्तर्राष्ट्रिय समुदायबीच जोड्ने महत्वपूर्ण अभियान भएको उल्लेख छ।
विज्ञप्तिमा द्वन्द्व, असहिष्णुता, विभाजन र हिंसाबाट प्रभावित वर्तमान विश्वमा हजारौँ वर्षअघि नेपालबाट फैलिएको बुद्धको शान्ति, मैत्री र करुणाको सन्देश आज पनि उत्तिकै सान्दर्भिक रहेको बताइएको छ। त्यस्तै, महात्मा गान्धीको सत्य र अहिंसा तथा नेल्सन मण्डेलाको समानता, मेलमिलाप, स्वतन्त्रता र सामाजिक न्यायको जीवनदर्शनलाई एउटै साझा मानवीय मूल्यका रूपमा विश्वभर प्रवर्द्धन गर्नु फाउन्डेसनको मूल उद्देश्य रहेको जनाइएको छ।
अन्तर्राष्ट्रिय पृष्ठभूमि र नेपाल–भारत सम्बन्ध
भारतको नयाँ दिल्लीमा मुख्य कार्यालय रहेको गान्धी–मण्डेला फाउन्डेसन एक अन्तर्राष्ट्रिय, गैरराजनीतिक तथा गैरनाफामूलक सामाजिक संस्था हो। फाउन्डेसनले भारतसहित उत्तर अमेरिका, दक्षिण अमेरिका, युरोप, अफ्रिका, एसिया र अस्ट्रेलियासम्म आफ्नो अन्तर्राष्ट्रिय सम्बन्ध र गतिविधि विस्तार गरिसकेको छ। संस्थाले विश्व शान्ति, मानव अधिकार, सामाजिक न्याय, जनस्तरीय सम्बन्ध र सांस्कृतिक आदानप्रदानका क्षेत्रमा कार्य गर्दै आएको छ।
नेपाल च्याप्टरको स्थापनाले नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक, आध्यात्मिक तथा जनस्तरीय (पिपल-टु-पिपल) सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। विज्ञप्तिमा भनिएको छ,’गौतम बुद्धको जन्मभूमि नेपाल र महात्मा गान्धीको सत्य तथा अहिंसाको दर्शनले विश्वमा स्थापित गरेको भारतबीचको साझा विरासतलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न यो च्याप्टरले महत्वपूर्ण भूमिका खेल्नेछ।’
यसअन्तर्गत दुवै देशका युवा, विद्यार्थी, कलाकार, बुद्धिजीवी, सामाजिक अभियन्ता तथा सांस्कृतिक संस्थाहरूबीच सहकार्य र संवादका अवसर विस्तार गरिने बताइएको छ।
आगामी मुख्य कार्यक्रमहरू
नेपाल च्याप्टरले आगामी दिनमा शान्ति, संस्कृति र कूटनीतिसँग सम्बन्धित छ वटा प्राथमिक कार्यक्रमलाई अगाडि बढाउने कार्यदिशा तय गरेको छ। जसमा:
- बुद्ध–गान्धी–मण्डेला पिस डायलग:नेपाल तथा अन्तर्राष्ट्रिय समुदायबीच शान्ति र अहिंसासम्बन्धी संवाद तथा सम्मेलन आयोजना गर्ने।
- इन्टरनेसनल कल्चरल एक्सचेन्ज:नेपाल र विभिन्न देशबीच कला, संस्कृति, भाषा, साहित्य र परम्पराको आदानप्रदान गर्ने।
- युथ फर पिस:युवा पुस्तालाई शान्ति, मानवता र नेतृत्व विकासका अभियानमा सहभागी गराउने।
- इन्टरनेसनल पिस रिकग्निसन:शान्ति, मानवता र सामाजिक सेवामा योगदान पुर्याउने व्यक्तित्व तथा संस्थाहरूलाई अन्तर्राष्ट्रिय स्तरमा सम्मान र प्रोत्साहन गर्ने।
- नेपाल ग्लोबल प्रमोसन:नेपालको आध्यात्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानलाई विश्व समुदायसमक्ष प्रवर्द्धन गर्ने।
- पिपल–टु–पिपल डिप्लोमेसी:नेपाल र विश्वका विभिन्न देशका नागरिक तथा संस्थाहरूबीच प्रत्यक्ष सम्बन्ध र सहकार्य विस्तार गर्ने रहेका छन्।
‘शान्ति केवल द्वन्द्वको अनुपस्थिति मात्र होइन, यो मानवता, करुणा र पारस्परिक सम्मानको उपस्थिति हो,’ भन्ने मूल मर्मलाई आत्मसात् गर्दै नेपाललाई अन्तर्राष्ट्रिय शान्ति, संस्कृति र मानवीय सहकार्यको साझा मञ्चका रूपमा स्थापित गर्न नेपाल च्याप्टरले योगदान पुर्याउने विश्वास विज्ञप्तिमा व्यक्त गरिएको छ।







About Us
प्रतिक्रिया