मुगु- मुगुको रारा ताल जाने क्रममा हाइलक्स गाडी दुर्घटनामा परी घाइते भएका दुई जनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ। आइतबार मुगुको छायानाथ रारा नगरपालिका-७, टोप्लामा बा १७ च १८६४ नम्बरको हाइलक्स गाडी दुर्घटना भएको थियो। दुर्घटनामा तीन जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक पदम केसीका अनुसार सोमबार बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत घाइते दम्पतीको उद्धार गरिएको हो। उद्धार गरिएका ललितपुर महानगरपालिका-१५ का ५८ वर्षीय गाडी चालक कञ्चन थापा र उनकी श्रीमती अञ्जु थापालाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको छ।
जिल्ला अस्पताल मुगुमा उपचार सम्भव नभएपछि उनीहरूलाई हेलिकोप्टरमार्फत सुर्खेत लगिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुवै जनाको अवस्था मध्यम छ। उक्त दुर्घटनामा काठमाडौंको कलंकी स्थायी ठेगाना भएका ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णकुमार थापाको मृत्यु भएको थियो । उनीहरू रारा ताल घुम्न निस्केका पर्यटक रहेको प्रहरीले जनाएको छ।







About Us
प्रतिक्रिया