काठमाडौं – इरान युद्धका कारण बढेको मुद्रास्फीति, खराब मौसम र भूकम्पको असरले जापानको अर्थतन्त्र तेस्रो त्रैमासिकमा स्थिर भएको छ। जुलाईदेखि सेप्टेम्बरसम्म अर्थतन्त्रमा कुनै वृद्धि नभएको सरकारी तथ्याङ्कले देखाएको छ। यो विश्लेषकहरूको ०.१ प्रतिशत वृद्धिको अनुमानभन्दा कमजोर हो।
तेलको मूल्य वृद्धि र कमजोर येनका कारण आयात महँगिँदा उपभोक्ता खर्च प्रभावित भएको छ। तेस्रो त्रैमासिकमा निजी उपभोग ०.३ प्रतिशतले घटेको छ। यसअघि अप्रिलदेखि जुनसम्म पनि समान दरले गिरावट आएको थियो। वार्षिक आधारमा अर्थतन्त्र ०.१ प्रतिशतले सङ्कुचित भएको छ।
जुलाईमा आएको आँधी र भारी वर्षाले उपभोक्तालाई किनमेलमा जान निरुत्साहित गरेको थियो। त्यस्तै, क्युसु क्षेत्रमा गएको भूकम्पका कारण कारखाना बन्द हुँदा उत्पादन र निर्यातमा समेत असर परेको थियो। सरकारी सहायता र कम्पनीहरूको लगानी वृद्धिले पनि अर्थतन्त्रलाई गति दिन सकेन।
क्यापिटल इकोनोमिक्सका मार्सेल थिएलियन्टले आर्थिक वृद्धिसम्बन्धी पछिल्लो तथ्याङ्क अनुमानभन्दा कमजोर र निराशाजनक रहेको बताएका छन्। मुद्रास्फीति बढिरहेकाले जापानको केन्द्रीय बैंकले आगामी डिसेम्बरमा ब्याजदर थप बढाउन सक्ने विश्लेषकहरूको अनुमान छ। अन्तर्राष्ट्रिय मुद्राकोषका अनुसार सन् २०२७ मा जापान विश्वका ठूला अर्थतन्त्रको सूचीमा छैटौँ स्थानमा झर्नेछ। भारत र जर्मनीले जापानलाई उछिन्ने कोषको प्रक्षेपण छ।






About Us
प्रतिक्रिया