काठमाडौं – कान्तिपुर फर्मास्यूटिकल्स ल्याबले आगामी मंसिर १० गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले जारी पूँजी ८० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ८० लाख रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र काभ्रेपलाञ्चोक जिल्लाका पाँचखाल नगरपालिका वडा नं. ७ का स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो। त्यस्तै, कम्पनीले सर्वसाधारणका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ९० लाख रुपैयाँबराबरको ९० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।
उक्त आईपीओमा स्थानिय बासिन्दाहरुले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने न्यूनतम १० कित्तादेखि अधिकतम ७ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा मंसिर २४ गते र ढिलोमा पुस १३ गते हुनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले मंसिर १५ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन्। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि मंसिर २४ गतेसम्म लम्बिनेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।






About Us
प्रतिक्रिया