तिहारमा घर खाली भएको मौका छोपेर चोरी गर्ने पाँच जना पक्राउ


काठमाडौं – तिहारको समयमा घर खाली भएको मौका छोपेर चोरी गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोहत्तरीका बिटु भन्ने प्रमोद कुमार यादव, भारतका करन गिरी, स्टार भन्ने गोकुल गिरी घरमा प्रवेश गरी चोरी गर्ने कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ।   

साथै, सुनसरीका अनुराग सोनी साह चोरीको सुन खरिद गरेको आरोपमा पक्राउ परेका छन्। दोलखाकी  अनिता चौधरी खड्का चोरीको सुन बिक्री गर्न सहयोग गरेको आरोपमा पक्राउ परेकी छन्।  

प्रहरीका अनुसार २०८३ कात्तिक २४ गते राति करिब १२ः२० बजे ललितपुर महालक्ष्मी– ५ टिकाथली स्थित उक्त घरमा भाडामा बस्दै आएका सशान्त साह र तेजेन्द्र कुमार चौधरीको कोठामा कोही नभएको मौका पारी ढोकाको ताला फुटाएर चोरहरू भित्र प्रवेश गरेका थिए। उनीहरूले कोठाबाट सुनचाँदीका गरगहना, ल्यापटप तथा नगद चोरी गरेका थिए।

प्रहरीले उनीहरूको साथबाट एक थान सुनको लकेट, चाँदीजस्तो देखिने दुई थान औंठी, एक थान चाँदीको सिक्री, एक थान चाँदीको ब्रेसलेट र घरको ताला फोर्न प्रयोग गरिएको एक थान फलामको रड बरामद गरेको जनाएको छ। उनीहरुलाई  थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि प्रहरी वृत्त सातदोबाटो, ललितपुर पठाइएको प्रहरीले जनाएको छ।

Skip This