स्थायी लेखा नम्बर लिनेको संख्या ८१ लाख नाघ्यो


काठमाडौं – नेपालमा स्थायी लेखा नम्बर (प्यान) लिने करदाताको संख्या ८१ लाख नाघेको छ। आन्तरिक राजस्व विभागका अनुसार असोज मसान्तसम्म कुल करदाता संख्या ८१ लाख ९५ हजार ४१४ पुगेको हो।

गत आर्थिक वर्षको असार मसान्तसम्म ७९ लाख १० हजार ८६४ रहेको करदाता संख्या चालु आर्थिक वर्षको असोजसम्म २ लाख ८४ हजार ५५० ले बढेको छ।

विभागका अनुसार असोज मसान्तसम्म व्यावसायिक प्यान लिनेको संख्या २२ लाख २७ हजार ८३७ र व्यक्तिगत प्यान लिनेको संख्या ५९ लाख २७ हजार ९३५ पुगेको छ। यस्तै, करकट्टी गर्ने निकायको प्यान संख्या ३९ हजार ५६२ पुगेको छ।

यसैगरी, मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएका करदाता ३ लाख ९० हजार ४७ पुगेका छन् भने अन्तःशुल्कमा दर्ता हुनेको संख्या १ लाख ३८ हजार ९२६ पुगेको विभागको तथ्यांकमा उल्लेख छ।