काठमाडौं – काठमाडौंका विभिन्न स्थानमा अमेरिकी डलर देखाएर ठगी तथा लुटपाट गर्दै आएका सुजन तामाङ प्रहरीको गोली लागेर पक्राउ परेका छन्। सिन्धुपाल्चोकको बाह्रबिसे गाउँपालिका–३ घर भई हाल काठमाडौंमा बसोबास गर्दै आएका २८ वर्षीय तामाङलाई प्रहरीले मंसिर १९ गते साँझ गोकर्णेश्वर नगरपालिका–३, गाम्चास्थित सडकखण्डबाट पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिन खोज्दा तामाङले प्रहरीमाथि धारिलो हतियार चक्कु प्रहार गरेका थिए। उक्त घटनामा एक जना प्रहरी घाइते भएका छन्।
प्रहरीका अनुसार स्थिति नियन्त्रणमा लिन सुरुमा चेतावनीस्वरूप पेस्तोलबाट एक राउन्ड हवाई फायर गरिएको थियो। त्यसपछि पनि आक्रमणको प्रयास जारी राखेपछि प्रहरीले घुँडामुनि लक्षित गरी एक राउन्ड गोली चलाएको थियो। गोली लागेर घाइते भएका तामाङलाई उपचारका लागि ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ।
तामाङको साथबाट प्रहरीले ठगीमा प्रयोग गरिएको मोटरसाइकल, नक्कली नम्बर प्लेटहरू, अमेरिकी डलरजस्तै आकारमा काटेर तयार पारिएका सेतो कागजका बन्डल, नेपाली २० रुपैयाँका चार बन्डल तथा कागजको बन्डलको माथि र तल राखिएका पाँच–पाँच अमेरिकी डलरका नोट बरामद गरेको छ। त्यस्तै, करिब एक किलोग्राम तौलको नक्कली सुनको ढिक्कासमेत बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार तामाङविरुद्ध काठमाडौं, भक्तपुर, ललितपुर र सिन्धुपाल्चोक गरी चार जिल्लामा विभिन्न मितिमा ठगीसम्बन्धी मुद्दा तथा उजुरी दर्ता भएको खुलेको छ। प्रहरीले उनीमाथि थप अनुसन्धान अघि बढाएको जनाएको छ।







About Us
प्रतिक्रिया