चोरीको नगद तथा गरगहनासहित प्रितम गुरुङ र प्रिया गुरुङ पक्राउ


काठमाडौं – काठमाडौंको लालदरबारस्थित एक घरबाट नगद तथा बहुमूल्य गरगहना चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नक्साल बस्ने २५ वर्षीय प्रितम गुरुङ र २९ वर्षीया प्रिया गुरुङ रहेका छन्। 

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गत २०८३ कात्तिक १६ गते बिहान ६ बजे काठमाडौं महानगरपालिका–१, लालदरबारस्थित तीनतले पक्की घरमा चोरी भएको सूचना प्राप्त भएको थियो। उनीहरू कोठामा खानतलासी गर्दा चोरी भएका विभिन्न सामान फेला परेपछि दुवैलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका–१, नक्सालबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार उनीहरूको साथबाट सुनजस्तो देखिने विभिन्न गरगहना, चार थान विभिन्न कम्पनीका घडी, नेपाली नगद ३ लाख ४८ हजार रुपैयाँ र अमेरिकी डलर १ हजार बरामद गरिएको छ।

बरामद गरिएका गरगहनामा जेड पत्थर जडित वाला, सिक्री, ब्रोच, औँठी, लकेट तथा मोती जडित टपलगायत रहेका छन्। यस्तै, एक थान साइड ब्याग, नीलो जिन्स पाइन्ट र खैरो छिर्केमिर्के ज्याकेटसमेत फेला परेको प्रहरीले जनाएको छ। उनीमाथि चोरीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।