डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई चिकित्सक संघको आग्रह


काठमाडौं-नेपाल चिकित्सक संघले चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको जीवन रक्षाका लागि तत्काल पहल गर्न सरकारसँग माग गरेको छ। बिहीबार संघका अध्यक्ष डा. बद्री रिजाल र महासचिव डा. विश्वराज दवाडीले संयुक्त विज्ञप्ति जारी गर्दै डा. केसीसँग अविलम्ब वार्ता गरी उनका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

सरकारले गरेका नियुक्ति सच्याउन र विगतमा भएका सहमति कार्यान्वयन गर्न माग गर्दै डा. केसी आठ दिनदेखि सत्याग्रहमा छन्। लामो सत्याग्रहका कारण उनको स्वास्थ्यमा जटिल समस्या देखिएको संघले जनाएको छ।

संघले डा. केसीको जीवन रक्षाका लागि तत्काल वार्ताको वातावरण बनाउन र उनले उठाएका जायज माग सम्बोधन गरी समस्या समाधान गर्न सरकारसँग जोडदार माग गरेको छ। यसैबीच, डा. केसीको जीवन रक्षाका लागि चाल्नुपर्ने कदमबारे छलफल गर्न संघले शुक्रबार दिउँसो १ बजे आफ्नो कार्यालयमा कार्यक्रम आयोजना गर्ने भएको छ।

यसअघि भएको सत्याग्रहका क्रममा सरकारले गरेका सहमति कार्यान्वयन नगरेको र सहमतिविपरीत स्वार्थ बाझिने गरी स्वास्थ्य संस्थामा नियुक्ति गरेको भन्दै डा. केसी पुनः सत्याग्रहमा बसेका हुन्। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई इलामबाट काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ।