वित्तीय क्षेत्रका शक्तिशाली कुर्सीमा राष्ट्र बैंकका ‘क्याडर’

'नियामकदेखि योजना आयोगसम्म एउटै पृष्ठभूमिको वर्चस्व, बीमा प्राधिकरण, धितोपत्र बोर्ड र निक्षेप तथा कर्जा सुरक्षण कोषको नेतृत्वमा केन्द्रीय बैंकका अधिकारी'


काठमाडौं – नेपालको आर्थिक तथा वित्तीय क्षेत्रका महत्त्वपूर्ण संस्थाको नेतृत्वमा नेपाल राष्ट्र बैंकमा लामो समय काम गरेका अधिकारीहरूको उपस्थिति बाक्लिँदै गएको छ। बीमा बजारको नियामकदेखि पुँजी बजारको नियामक, निक्षेप सुरक्षण गर्ने संस्थान र समग्र विकास नीति बनाउने राष्ट्रिय योजना आयोगसम्म राष्ट्र बैंकको पृष्ठभूमि भएका व्यक्तिहरू नेतृत्वमा पुगेका छन्।

पछिल्लो पटक नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजनविक्रम थापा र निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त भएका छन्। यसअघि नै नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपाल भट्ट र राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त भइसकेका छन्। यी नियुक्तिले वित्तीय क्षेत्रका महत्त्वपूर्ण संस्थामा राष्ट्र बैंकको जनशक्तिको प्रभाव र उपस्थिति थप स्पष्ट पारेको छ।

बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष थापा नियुक्त हुनुअघि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक थिए। उनले केन्द्रीय बैंकमा लामो समय काम गरेका छन्। राष्ट्र बैंकको कर्पोरेट योजना तथा जोखिम व्यवस्थापन विभाग र लघुवित्त संस्था सुपरिवेक्षण विभागमा समेत नेतृत्वदायी जिम्मेवारी सम्हालेका थापाले अब बीमा क्षेत्रको नियमन, सुपरिवेक्षण र सुधारको जिम्मेवारी पाएका छन्। मन्त्रिपरिषद्को निर्णयपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

त्यस्तै, धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त डा. गोपाल भट्ट पनि राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन्। उनले केन्द्रीय बैंकमा अनुसन्धान तथा सुपरिवेक्षण क्षेत्रमा काम गरेका थिए। सरकारले गत असार ५ गते उनलाई सेबोन अध्यक्ष नियुक्त गरेको थियो। अहिले उनी नेपालको पुँजी बजार नियमन गर्ने सर्वोच्च निकायको नेतृत्वमा छन्।

निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त पिताम्बर भण्डारीले पनि राष्ट्र बैंकमा करिब २५ वर्ष काम गरेका छन्। सहायक निर्देशकबाट सेवा सुरु गरेका उनी कार्यकारी निर्देशक भएका थिए। मौद्रिक व्यवस्थापन, वित्तीय संस्था सुपरिवेक्षण, मानव संसाधन व्यवस्थापन तथा संस्थागत योजना र जोखिम व्यवस्थापन विभागमा काम गरेको अनुभव उनीसँग छ। उनी यसअघि निक्षेप तथा कर्जा सुरक्षण कोषकै सञ्चालक समिति सदस्यसमेत थिए।

योजना आयोगमा पनि राष्ट्र बैंककै पृष्ठभूमि
राष्ट्र बैंकका अधिकारीहरूको उपस्थिति वित्तीय नियामक निकायमा मात्र सीमित छैन। देशको समग्र विकास नीति, आवधिक योजना र स्रोत परिचालनको खाका बनाउने राष्ट्रिय योजना आयोगको नेतृत्वमा पनि केन्द्रीय बैंकको पृष्ठभूमि भएका अधिकारीहरू पुगेका छन्।

आयोगका वर्तमान उपाध्यक्ष डा. गुणाकर भट्ट नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन्। उनी लामो समय केन्द्रीय बैंकको आर्थिक अनुसन्धान र नीतिगत क्षेत्रमा कार्यरत थिए। उनीभन्दा अघिल्लो कार्यकालमा आयोगको उपाध्यक्ष रहेका डा. प्रकाशकुमार श्रेष्ठ पनि राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन्। यसरी लगातार दुई नेतृत्वमा केन्द्रीय बैंकको पृष्ठभूमि देखिएको छ।

राष्ट्र बैंकका अधिकारीहरू नियामक निकाय र नीति निर्माण गर्ने संस्थामा पुग्नु संयोग मात्रै हो वा सरकारले वित्तीय तथा आर्थिक क्षेत्रमा केन्द्रीय बैंकको अनुभवलाई प्राथमिकता दिएको हो भन्ने प्रश्न पनि उठेको छ। राष्ट्र बैंक नेपालको सबैभन्दा स्थापित वित्तीय नियामक संस्था हो।

 बैंक तथा वित्तीय संस्थाको नियमन, सुपरिवेक्षण, मौद्रिक नीति, विदेशी विनिमय व्यवस्थापन र वित्तीय स्थायित्वका क्षेत्रमा काम गरेको अनुभव त्यहाँका अधिकारीसँग हुन्छ। वित्तीय प्रणालीको जोखिम पहिचान, तथ्यांक विश्लेषण र नीतिगत निर्णयमा उनीहरूको अनुभव उपयोगी हुन सक्छ। यही कारण अन्य वित्तीय संस्थाको नेतृत्वमा पनि राष्ट्र बैंकका अधिकारीलाई योग्य विकल्पका रूपमा हेरिएको हुन सक्छ।

बैंकिङ्ग, बीमा र पुँजी बजार अलग-अलग क्षेत्र भए पनि तिनको सम्बन्ध एक अर्कासँग जोडिएको छ। बैंक तथा वित्तीय संस्थाले बीमा कम्पनीमा लगानी गर्छन्, बीमा कम्पनीले पुँजी बजारमा लगानी गर्छन् र वित्तीय प्रणालीमा देखिने जोखिमले यी सबै क्षेत्रलाई असर गर्न सक्छ।

त्यसैले राष्ट्र बैंकको नियमन तथा सुपरिवेक्षण अनुभव भएका अधिकारी बीमा प्राधिकरण, धितोपत्र बोर्ड र निक्षेप तथा कर्जा सुरक्षण कोषमा पुग्दा अन्तर निकाय समन्वय सहज हुने अपेक्षा गर्न सकिन्छ। वित्तीय जोखिम पहिचान, संस्थागत सुशासन, नियामकीय अनुशासन र संकट व्यवस्थापनमा उनीहरूको अनुभव उपयोगी हुन सक्छ। तर, एउटै संस्थाको अनुभवलाई सबै क्षेत्रमा समान रूपमा लागू गर्न सकिन्छ भन्ने हुँदैन।

बैंकिङ्ग क्षेत्रको नियमन र बीमा बजारको विकासका चुनौती फरक छन्। पुँजी बजारको प्रकृति र जोखिम व्यवस्थापन पनि बैंकिङ्गभन्दा भिन्न हुन्छ। त्यसैले केन्द्रीय बैंकको अनुभवसँगै सम्बन्धित क्षेत्रको विशिष्ट ज्ञान र बजारको आवश्यकता बुझ्ने क्षमता पनि नेतृत्वका लागि उत्तिकै महत्त्वपूर्ण हुने विज्ञहरू बताउँछन्।

गोपाल भट्टको नियुक्तिअघि नै उठेको स्वार्थको द्वन्द्वको प्रश्न
राष्ट्र बैंकका अधिकारीहरूको नियुक्ति र उनीहरूबीचको संस्थागत सम्बन्धले स्वार्थको द्वन्द्वसम्बन्धी बहसलाई पनि सान्दर्भिक बनाएको छ। सेबोन अध्यक्ष छनोट प्रक्रियाका क्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.गुणाकर भट्टले सिफारिस समिति संयोजकबाट राजीनामा दिएको घटना यसको उदाहरण हो।

सरकारले सेबोन अध्यक्ष छनोटका लागि गठन गरेको सिफारिस समितिको संयोजकमा गुणाकर भट्ट थिए। तर, अध्यक्ष पदका लागि उनका नजिकका नातेदार तथा राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा.गोपाल भट्टले पनि आवेदन दिएपछि सम्भावित स्वार्थको द्वन्द्वको प्रश्न उठ्यो। त्यसपछि गुणाकर भट्टले नैतिकताको आधारमा समिति संयोजकबाट राजीनामा दिएका थिए। पछि मन्त्रिपरिषद्ले गोपाल भट्टलाई सेबोन अध्यक्ष नियुक्त गरेको थियो।