१४ वर्षदेखि दसैंतिहार ड्युटीमै, डीआईजी सापकोटाको चाडपर्व अनुभव


काठमाडौं – तिहार भन्ने बित्तिकै झिलिमिली बत्ती, फूल माला, देउसी भैलो, दिदीबहिनीको हातको टीका र परिवारसँगको आत्मीयता सम्झनामा आउँछ। वर्षभरिका थकान र व्यस्तता बिर्सेर परिवारसँग खुसी साट्ने अवसर हो यो। तर, सबैका लागि तिहारको अर्थ एउटै हुँदैन। प्रहरीका लागि भने चाडपर्वको उल्लाससँगै नागरिकको सुरक्षा र सेवाको जिम्मेवारी पनि जोडिएको हुन्छ। सर्वसाधारणले हर्षोल्लासका साथ तिहार मनाइरहँदा प्रहरी भने शान्ति सुरक्षा कायम गर्न दिनरात खटिनुपर्छ। त्यसैले धेरै प्रहरी कर्मचारीको चाडपर्व कार्यालय र कार्यक्षेत्रमै बित्छ। प्रहरी नायव महानिरीक्षक (डीआईजी) जय राज सापकोटाको तिहार पनि यस पटक ड्युटीमै बित्ने भएको छ। उनका लागि तिहारको खुसी भनेकै आफूले जिम्मेवारी लिएको क्षेत्रका नागरिकले सुरक्षित रूपमा चाड मनाउन पाउनु हो।

मोरङको विराटनगर घर भएका सापकोटाका दुई दिदीबहिनी छन्। तर, प्रदेश प्रहरी प्रमुखको जिम्मेवारीमा रहेकाले यस पटक उनी दिदीबहिनीसँग टीका लगाउन घर जान पाउने छैनन्। ‘अघिल्लो वर्ष जुठो परेको थियो। यसपालि पनि जिम्मेवारीका कारण घर जान पाइने अवस्था छैन,’ उनी भन्छन्,‘दिदीबहिनी विराटनगरमा हुनुहुन्छ। यसपालि आउन पाउँदिनँ, अर्को वर्षसँगै मनाउँला भनेर भनेको छु ।’२०५४ सालमा प्रहरी सेवामा प्रवेश गरेका सापकोटाले सेवामा लागेदेखि नै धेरै चाडपर्व कार्यालयमै मनाएका छन्। २८ वर्षको प्रहरी सेवामा करिब १४ वर्ष जति दसैंतिहार कार्यालयमै बिताएको उनी सम्झन्छन्। यस पटक पनि कार्यक्षेत्रमै रहेका कर्णालीवासीलाई आफ्नै परिवारको सदस्य र दिदीबहिनीजस्तै मानेर तिहार मनाउने उनको योजना छ।

परिवारसँग बसेर तिहार मनाउने रहर नहुने होइन। तर, जिम्मेवारीका अगाडि व्यक्तिगत चाहनालाई थाती राख्नुपर्ने अवस्था रहेको उनी बताउँछन्। ‘हामी पनि मानिस नै हौँ। परिवारसँग बसेर चाडपर्व मनाउन पाए हुन्थ्यो भन्ने सबैको चाहना हुन्छ। तर, जिम्मेवारीले त्यो अवसर नदिँदो रहेछ। अब त बानी परिसक्यो,’ उनी भन्छन्। सम्भव भए अर्को वर्षको दसैँ–तिहार भने परिवारसँगै मनाउने उनको चाहना छ।

बाल्यकालको तिहार सम्झिँदा छुट्टै उत्साह
प्रहरी सेवामा प्रवेश गरेपछि तिहारको अर्थ र अनुभव फेरिए पनि बाल्यकालका सम्झना भने सापकोटाको मनमा अझै ताजा छन्। त्यतिबेला न अहिलेको जस्तो ठुलो जिम्मेवारी थियो, न समयको कुनै बन्देज। घरमा सेल रोटी पकाउने, साथीभाइसँग देउसी–भैलो खेल्न जाने, नाचगान गर्ने र घरघरमा रमाइलो गर्ने दिनहरू उनको स्मृतिमा अझै ताजा छन्।

‘बाल्यकालको तिहार एकदम रमाइलो हुन्थ्यो। एसएलसीसम्मको तिहार सम्झिँदा छुट्टै उत्साह आउँछ। साथीभाइसँग देउसी–भैलो खेल्ने, स्कुलबाटै नाचगान गर्दै जाने र घरघरमा रमाइलो गर्ने गर्थ्यौँ,’ उनी सम्झन्छन्, ‘त्यो समय फेरि फर्केर आउँदैन।’ बाल्यकालमा आफूले रमाइलो गरेर मनाएको तिहार अहिले अरूले सुरक्षित रूपमा मनाउन पाउन् भन्ने जिम्मेवारी उनको काँधमा छ । व्यक्तिगत रूपमा परिवारसँग बसेर चाड मनाउन नपाए पनि कार्यक्षेत्रका नागरिकले खुसी र सुरक्षित वातावरणमा तिहार मनाउन पाउँदा आफूलाई पनि सन्तुष्टि मिल्ने उनी बताउँछन्।

‘हाम्रो जिम्मेवारी भनेको शान्ति सुरक्षा कायम गर्नु हो। आफ्नो जिम्मेवारीभित्रका जनतालाई चाडपर्वका समयमा सुरक्षित वातावरण बनाउन सक्यौँ भने हामीले पनि परिवारसँग बसेर चाड मनाएजस्तै अनुभूति हुन्छ,’ उनी भन्छन्।

तिहार सुरक्षाका लागि प्रहरी तयारी
तिहारलाई शान्तिपूर्ण, सुरक्षित र उल्लासमय बनाउन कर्णाली प्रदेश प्रहरीले सुरक्षा योजना तयार पारेको छ। दसैंलाई सुरक्षित रूपमा सम्पन्न गरिसकेको प्रहरीले अब तिहार लक्षित सुरक्षा व्यवस्थालाई प्राथमिकतामा राखेको छ। चाडपर्वका समयमा प्रहरी कर्मचारीलाई पनि आलोपालो बिदा दिने व्यवस्था मिलाइएको सापकोटा बताउँछन्। केही कर्मचारीलाई दसैँमा घर जाने र केहीलाई तिहारमा जाने गरी व्यवस्थापन गरिएको छ। यद्यपि, सुरक्षा जिम्मेवारीमा रहेका सबै कर्मचारीलाई एकै पटक बिदा दिन सम्भव हुँदैन।

प्रहरीको मुख्य उद्देश्य नागरिकले कुनै अवरोध, त्रास वा अप्रिय घटनाबिना चाडपर्व मनाउन पाउने वातावरण बनाउनु रहेको उनको भनाइ छ। तिहार उल्लास र उत्सवको पर्व भए पनि यस अवधिमा जुवा तास खेल्ने, पटाका पड्काउने तथा देउसी–भैलोका नाममा राति अबेरसम्म हिँडडुल गर्ने क्रममा विभिन्न समस्या उत्पन्न हुन सक्ने प्रहरीको आकलन छ। यस्ता गतिविधिबाट हुन सक्ने सम्भावित घटना नियन्त्रण र न्यूनीकरण गर्न प्रहरी सक्रिय रहने सापकोटा बताउँछन्। ‘तिहारमा पटाका पड्काउने, जुवा तास खेल्ने र देउसी–भैलोका क्रममा राति अबेरसम्म हिँड्ने जस्ता गतिविधिबाट समस्या आउन सक्छन्। त्यसलाई न्यूनीकरण गर्न हामीले आवश्यक सुरक्षा व्यवस्था मिलाउँछौँ,’ उनी भन्छन्। उनले नागरिकलाई पनि कानुनले निषेध गरेका गतिविधिमा संलग्न नहुन आग्रह गरेका छन्। आफ्नो संस्कृति र परम्परालाई सुरक्षित तथा मर्यादित ढङ्गले मनाउनुपर्ने उनको सुझाव छ।

कुकुर तिहारमा प्रहरीका कुकुरलाई विशेष सम्मान
तिहारको अर्को आकर्षण कुकुर तिहार पनि हो। कुकुरलाई यमदूतका रूपमा पूजा गर्ने धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार यस दिन कुकुरलाई माला र टीका लगाइदिने तथा मिठा परिकार खुवाउने गरिन्छ। प्रहरी संगठनमा अपराध अनुसन्धान तथा सुरक्षा कार्यमा सहयोग गर्ने तालिमप्राप्त कुकुरहरूको पनि यस दिन विशेष सम्मान गरिन्छ।

सापकोटाका अनुसार कर्णाली प्रदेशमा हाल करिब ६ वटा प्रहरी कुकुर छन्। कुकुर तिहारका दिन उनीहरूलाई पूजा गर्ने, माला लगाउने र मिठा परिकार खुवाउने तयारी गरिएको छ। अपराध अनुसन्धान र सुरक्षा कार्यमा महत्त्वपूर्ण योगदान पुर्‍याउने प्रहरी कुकुरलाई यस दिन विशेष स्याहार र सम्मान गरिने उनी बताउँछन्। चाडपर्वलाई सुरक्षित बनाउन प्रहरीको प्रयास मात्र पर्याप्त नहुने सापकोटाको बुझाइ छ। त्यसका लागि नागरिक स्वयं पनि सचेत र जिम्मेवार हुन आवश्यक छ। प्रहरी र नागरिकबीचको सहकार्यबाट मात्रै समाजमा शान्ति सुरक्षा कायम गर्न सकिने उनको भनाइ छ।

नागरिकले गलत गतिविधिमा संलग्न नभई आफ्ना चाडपर्व उत्साहपूर्वक र शान्तिपूर्ण रूपमा मनाउनुपर्ने उनले बताएका छन्। कुनै शङ्कास्पद गतिविधि वा अप्रिय घटना हुन लागेको जानकारी पाए तत्काल प्रहरीलाई खबर गर्न पनि उनको आग्रह छ। उनी भन्छन्, ‘प्रहरी तपाईँहरूकै सुरक्षाका लागि हो। प्रहरीलाई आफ्नै घरको सदस्यजस्तै सम्झनुहोस्। गलत क्रियाकलापमा संलग्न नभई सुरक्षित रूपमा तिहार मनाउनुहोस्। तपाईँहरूको तिहार शुभ भयो भने हाम्रो तिहार पनि शुभ हुन्छ।’ परिवारसँग बसेर टीका लगाउने र बाल्यकालझैँ देउसी भैलोमा रमाउने उनको रहर यसपालि पनि अधुरै रहनेछ। तर, हजारौँ नागरिकले निर्भय भएर तिहार मनाउन पाउनु नै आफ्नो चाडपर्वको खुसी हुने सापकोटाको भनाइ छ।

Skip This